
बुटवल,१० भदौ । संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको केही प्रावधानप्रति बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ध्यानाकर्षण गराएकाे छ । संघका अध्यक्ष हरिप्रसाद उपाध्यायद्वारा आज मंगलबार सार्वजनिक विज्ञप्तिमा निजी विद्यालयलाई विस्थापित गर्ने गरी ल्याइएका व्यवस्थाले मुलुकको शिक्षाक्षेत्र र भविष्यमा गम्भीर असर पर्नसक्ने ओैंल्याईएकाे छ ।
जारी विज्ञप्तिमा भनिएको छ– “विधेयकले निजी विद्यालयको दीर्घकालीन योगदान र रोजगार सिर्जनालाई नदेखी पूर्ण रुपमा राष्ट्रियकरण गर्ने प्रावधान ल्याउनु शिक्षा प्रणालीको दीर्घकालीन हितमा हुने छैन ।” शिक्षामा निजी क्षेत्रकाे ८ अर्ब लगानी, ३४ प्रतिशत याेगदान र ५ लाखभन्दा बढी रोजगारी सिर्जना गरेको तथ्य प्रस्तुत गर्दै सरकारले ल्याएको प्रस्ताव पुनःविचार गर्न आग्रह गरिएकाे छ ।
विधेयकले तोकेको शुल्क निर्धारण, आवासीय विद्यालयको विस्थापन र पूर्ण राष्ट्रियकरणको धारणा शिक्षा क्षेत्रमा निजी लगानीकर्ताको मनोबल तोड्ने संघको निष्कर्ष छ। विज्ञप्तिमा भनिएको छ, “शिक्षा गुणस्तर कायम गर्न र मुलुकलाई योग्य मानव संसाधन उत्पादन गर्न निजी विद्यालयहरूको भूमिका अस्वीकार्य छैन । यस्ता प्रावधान कार्यान्वयन भएमा शिक्षा क्षेत्र नै संकटमा पर्नेछ ।”
संघले यस विषयमा सबै राजनीतिक दल, सांसद, सरोकारवाला, विभिन्न संघसंस्था र निजी विद्यालयका प्रतिनिधिलाई गम्भीर भएर छलफल गर्न आग्रह गरेको छ । साथै, नेपाल उद्योग वाणिज्य महासंघसहितका सरोकारवालासँग सहकार्य गर्दै शिक्षा प्रणालीमा समयानुकूल सुधार र सन्तुलित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।