
काठमाडौँ,१० भदौ। गृह मन्त्रालयले देशभर २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) प्रतिवेदनको आधारमा गृह मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको हो । सोमबारको मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ ।
गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्ने विषय गृह मन्त्रालयको वार्षिक बजेटमै समावेश भएको छ । यस सम्बन्धमा बजेट कार्यान्वयन अन्तर्गत भौतिक संरचना र कर्मचारीका लागि दरबन्दी व्यवस्थापनको विषय अगाडि बढ्ने छ ।
अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरेपछि नयाँ इलाका प्रशासन स्थापना स्थापना गर्ने विषय कार्यान्वयन जाने आचार्यले बताए ।सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न गृह मन्त्रालयले प्रस्ताव पठाएको थियो । आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने योजना गरेको गृह मन्त्रालयले जनाएको छ ।