
दाङ,७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धनमार्फतै समाजलाई समृद्धिको यात्रामा अघि बढाउन सकिने बताउनुभएको छ ।
बुवाको मुख हेर्ने दिन तथा कुशे औंसी पर्वको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले पारिवारिक सम्बन्ध, कर्तव्यबोध र संस्कारलाई मजबुत बनाउन विशेष योगदान दिने उल्लेख गर्नुभयो । उहाँले यस्ता पर्वहरूले पुस्ता-पुस्ताबीच आत्मीयता बढाउने मात्र नभई सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने महत्वपूर्ण अवसर उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।
आज देशभर बुवाप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने परम्परागत पर्व बुवाको मुख हेर्ने दिन तथा पितृ तर्पणको दिवस कुशे औंसी श्रद्धा र उल्लासका साथ मनाइँदैछ । यस दिनमा बुबालाई मिठा खानेकुरा, कपडा तथा उपहार अर्पण गर्ने र पितृहरूको सम्झनामा तर्पण गर्ने परम्परा रहँदै आएको छ ।
यस प्रकारका मौलिक संस्कारहरूको संरक्षण र प्रवर्द्धनले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन सक्ने विश्वास ब्यक्त गर्नुभएको छ ।