कालिका मानवज्ञान मा. वि. मा मोती जयन्तीको अवसरमा गजल प्रशिक्षण कार्यक्रम

  • बुटवल ,६ भदौ । बुटवल -१०, रुपन्देहीमा अवस्थित कालिका मानवज्ञान मा. वि. मा मोती जयन्तीको अवसरमा गजल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाली साहित्यमा गजल विधालाई प्रवेश गराउने मोतिराम भट्टको जन्मजयन्तीको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो। कालिका साहित्य क्लबको आयोजनामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा कालिका मानवज्ञान मा विका अध्यक्ष नित्यानन्द ज्ञवालीको प्रमुख अतिथ्यता रहेको थियो। सो कार्यक्रममा कालिका साहित्य क्लबका अध्यक्ष मिलन बि.क. को अध्यक्षता रहेको थियो। उक्त कार्यक्रममा कवि,गजलकार एवं प्राध्यापक डाक्टर श्यामप्रसाद न्यौपानेको प्रमुख प्रशिक्षण रहेको थियो। कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ५० जना साहित्यानुरागी विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक दिनेश थापाले विद्यार्थीहरूलाई सिर्जनशील बनाउदै साहित्यमा अग्रसर बनाउन विद्यालयले यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गर्दै आइरहेको बताए। कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीहरूको साहित्यिक उज्ज्वल भविष्यको शुभकामना दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले आफूले रचना गरेका गजलहरू सुनाउँदै आगामी दिनमा विद्यार्थीलाई सिर्जनशील बनाउन यस्ता कार्यक्रमहरु निरन्तर गरिरहनुपर्ने कुरा बताए। विद्यालयको सभाहलमा भएको कार्यक्रमबाट थुप्रै गजलकार जन्मिने अपेक्षा विद्यालयको रहेको कुरा गजलकार, लेखक एवं शिक्षक युवराज कडेलले बताए। गजल प्रशिक्षण कार्यक्रमको सहजीकरण एवं संयोजन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले गरेका थिए।
    विद्यालयमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन पनि गरिएको थियो। रक्तदाता स्वयंसेवी सङ्घ रूपन्देही शाखा र कालिका मानवज्ञान माविको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम समेत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको जानकारी विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले दिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation