प्रल्हादकुमार अग्रवालको जीवनयात्रा व्यवसायीका लागि प्रेरणाको स्रोत´-मुख्यमन्त्री आचार्य

  • भैरहवा,५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगपति तथा समाजसेवी प्रल्हादकुमार अग्रवालको प्रेरणादायी जीवनयात्रा समेटिएको ‘सरलताका आदर्शः प्रल्हादकुमार अग्रवाल’ स्मृति ग्रन्थ व्यवसायीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    बिहीबार भैरहवामा आयोजित ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रत्येक उद्योगी व्यवसायीले उक्त ग्रन्थ अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो-`प्रल्हादकुमार अग्रवाल र उहाँको परिवार तथा सिंगो व्यवसायी समुदायप्रति प्रदेश सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु । बुवा र हजुरबुवाले थालनी गरेका कार्यलाई अझ विकसित रूपमा अगाडि बढाउन सफलता प्राप्त होस् भन्ने कामना गर्दछु । अधुरा सपनाहरू पूरा गर्न यहाँहरू अगाडि बढ्नुहोस् । सरकार सदैव साथमा रहनेछ ।

    भैरहवा औद्योगिक क्षेत्रलाई औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न अग्रवालले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले उहाँको जीवनपद्धति यथार्थमै सरलताको आदर्श भएको बताउनुभयो । उहाँले देशको समृद्धि कृषि, पर्यटन, जलस्रोत, ऊर्जा र औद्योगिक विकासमा आधारित हुने स्पष्ट दृष्टिकोण राख्दै राज्य, निजी क्षेत्र र सरोकारवालाको साझा प्रयास आवश्यक हुने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा प्रकाशित स्मृति ग्रन्थले भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ । मुख्यमन्त्री आचार्यले दिवंगत प्रल्हादकुमार अग्रवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै ग्रन्थ प्रकाशनमा जाेडिएका सबै पक्ष प्रती आभार व्यक्त गर्नु भएको छ । स्मृति ग्रन्थ विमाेचन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, संघीय सरकारका पूर्व मन्त्री, उद्योगी, व्यवसायी तथा परिवारका सदस्यहरुकाे सहभागीता थियाे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation