
काठमाडौँ ,५ भदौ। सहकारी ठगी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएका टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभ मार्फत ठगी गरेको मुद्दामा यस्तो फैसला गरेको हो । यसअघि उच्च अदालतले उनलाई दोषी ठहर गरेको थियो । उच्च अदालत पाटनले अधिकारीलाई १८ लाख ३१ हजार जरिवाना तोकेको थियो भने कैदसमेत एक महिना हुने फैसला भएको थियो । सहकारीमार्फत २ सय २ जना निक्षेपकर्ताको एक करोड ८३ लाख रुपैयाँभन्दा बढीको ठगी भएको भन्दै २०७१ मा प्रहरीमा जाहेरी परेको थियो । अधिकारी सो सहकारीको उपाध्यक्ष भएकाले प्रहरीले सहकारी ठगीमा प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । जाहेरवालाहरूले पटक–पटक रकम माग्दा पनि नदिएपछि पीडितहरू प्रहरीमा पुगेका थिए ।