धर्म र संस्कृतिको संरक्षण सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री आचार्य

  • दाङ,४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रने भएकाले यसप्रकारका प्रवृत्तिको अन्त्य सबैको साझा जिम्मेवारी रहेको बताउनु भएको छ ।

    हरितालिका तीज पर्वको पूर्वसन्ध्यामा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) ले आयोजना गरेको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पुर्खाले जसरी पर्वहरु मनाउँदै आएका थिए, त्यसैगरी वर्तमान समयमा पनि अगाडि बढाउनुपर्ने धारणा राख्नु भयो ।

    `धर्म र संस्कृतिले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । व्यक्तिलाई अनुशासनमा राख्न पनि यसको विशेष योगदान छ । धर्म र संस्कृतिमा विचलन आए विकृति र विसंगति भित्रन्छ । त्यसैले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी हो,´उहाँले भन्नुभयो ।

    अहिले तीजलाई विभिन्न नाममा विकृत बनाउने काम भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्तो प्रवृत्ति संस्कृतिमाथि धावा बोल्ने कार्य भएको टिप्पणी गर्नुभयो ।

    कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारीले चाडपर्वले सामाजिक मूल्य-मान्यतालाई जीवन्त राख्न मद्दत गर्ने भएकाले संस्कृतिको वास्तविक मर्म जोगाउनु जरुरी रहेको धारणा राख्नुभयो ।

    प्रदेश सचिव ईश्वरराज पौडेलले राज्यको समावेशी नीतिका कारण निजामती सेवामा महिला कर्मचारीहरुको उल्लेख्य सहभागिता बढेको बताउनुभयो ।

    स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले तीजलाई ऊर्जाशील पर्वको रुपमा लिने गरिएको उल्लेख गर्दै भन्नुभयो, `यस पर्वले मानसिक स्वास्थ्यलाई टेवा पुर्‍याउँछ । तीजले ऊर्जाशील विचार ल्याउँछ । सांस्कृतिक र सामाजिक क्रियाकलापले पुस्तान्तरणमा सहयोग गर्छ । आत्मीय भावनाको विकास गराउँछ ।´

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation