लुम्बिनी प्रदेशले प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राखेकाे छ : मुख्यमन्त्री आचार्य

  • कपिलवस्तु,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    शुद्धाेधन गाउँपालिका-१ मानपकडीस्थित सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो रासायनिक मलको अभावलाई प्राङ्गारिक मलले पूर्ति गर्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभएकाे हाे ।
    `प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य पूरा गर्न प्राङ्गारिक मल उत्पादन हुनु जरुरी छ´उहाँले भन्नुभयाे-`यही मलको प्रयोग गरेर खेती प्रणालीलाई अघि बढाउने गरी केही वर्षभित्र प्रदेशलाई प्राङ्गारिक प्रदेशको रुपमा विकास गर्ने लक्ष्य पूरा हुनेछ ।´

    मुख्यमन्त्री आचार्यले प्राङ्गारिक मल उत्पादनका लागि सामुदायिक संघसंस्था, निजी क्षेत्र र उद्यमीसँग साझेदारी गर्नेगरी सरकारले वातावरण बनाउने पनि बताउनुभयो । स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन कृषि क्षेत्रको योगदान अतुलनीय रहेको चर्चा गर्दै उहाँले रोजगारी सिर्जनाको आधार पनि स्थानीय उत्पादन नै भएको उल्लेख गर्नुभयो ।

    `अहिले देखिएको मलको समस्या कम गर्न प्राङ्गारिक मल र कम्पोस्ट मल नै सक्षम छन् । हाम्रा परम्परागत अभ्यासलाई पुनःताजगी गरेर अघि बढाउन सकिन्छ´उहाँले भन्नुभयाे-`वनजंगलमा खेर गइरहेका पातपतिङ्गर संकलन गरेर कम्पोस्ट मल बनाउन सकिन्छ । गा‌ैशालामा यो अभियान सुरु भएको छ । किसानका गोठलाई सुधार गरेर मल-मुत्रबाट समेत प्राङ्गारिक मल बनाउन सकिने अभ्यासलाई अभियानका रुपमा लैजान जरुरी छ ।´
    मुख्यमन्त्री आचार्य सहित अनुगमनमा सहभागी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले किसानले भोगिरहेको रासायनिक मलको समस्या समाधान गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

    उद्यमी सीपी शर्माले अर्गानिक उत्पादनमा जोड दिँदै राज्यले सहयोग गरे यो अभियानलाई अझ व्यापक बनाउन सकिने बताउनुभयो ।

    दैनिक ४० टन र वार्षिक १५ हजार टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना सुरु गर्न सकिने र यसका लागि लगानी खोज्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation