
बुटवल, ३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माैलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण अपरिहार्य रहेको बताउनुभएको छ ।
अर्घाखाँची–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा आयोजना गरेको रोपाइँ जात्रा तथा तीज विशेष कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले माैलिक परम्परा र संस्कृतिहरू क्रमशः ओझेलमा पर्दै गएकाले त्यसलाई जगेर्ना गर्न सबैले उत्साहपूर्वक जुट्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
`हाम्रा माैलिक परम्परा र संस्कृतिहरू बिस्तारै ओझेलमा पर्दै गइरहेका छन् । वर्षौं देखी मनाउँदै आएका परम्पराहरू पुस्तान्तरण हुन जरुरी छ,´ उहाँले भन्नुभयो-`युवा पुस्तालाई परम्परा र संस्कृति हस्तान्तरण गर्दै जगेर्ना गर्न आवश्यक छ ।´
हरितालिका तीजको अवसरमा आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै उहाँले पर्व उत्साह र उल्लासका साथ मनाउनुपर्ने तर पर्वका नाममा विकृतिलाई प्रोत्साहन गर्न नहुनेमा जोड दिनुभयो ।`चाडपर्व मनाउने नाममा विकृतिलाई प्राेत्साहन गर्ने प्रवृत्ति बढ्दैछ, यस्ता विकृतिहरुलाइ निरुत्साहित गर्नुपर्ने साझा जिम्मेवारी हाे´उहाँले भन्नुभयाे-`माैलिक कला, संस्कृतिकाे संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।´