स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनबाट रोजगारी सिर्जना सम्भव : मुख्यमन्त्री आचार्य

  • दाङ,१९साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनु भएको छ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा साेमवार उद्यमी बाबु रोका संग भएको छलफलकाे क्रममा मुख्यमन्त्री आचार्यले नवप्रवर्तनयुक्त योजना सहित स्थानीय स्तरमै उत्पादन र स्वरोजगारलाई प्रोत्साहन गर्ने कार्यलाई प्रदेश सरकारले नीति तथा कार्यक्रमको प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

    भूमिकास्थान–५, जोगिटारी हाल लमही नगरपालिका–४, अर्नहवा निवासी उद्यमी राेकासँगको छलफलमा उहाँले भन्नुभयो, `हामीले स्थानीय उत्पादन र उद्यमशिलता मार्फत समृद्धि हासिल गर्ने संकल्प गरेका छाैं । स्थानीय स्तरमै उत्पादन बढाउने, बजारीकरणको अवसर विस्तार गर्ने र सीपमा आधारित रोजगार सृजना गर्न सरकार प्रतिबद्ध छ।´

    छलफलमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली समेत सहभागी हुनुहुन्थ्यो ।

    मुख्यमन्त्री आचार्यले बाँसजन्य उत्पादनजस्ता स्थानीय स्रोतमा आधारित उद्योगहरूमार्फत आम्दानी र रोजगारको सम्भावना धेरै रहेको उल्लेख गर्दै यस्ता क्षेत्रमा सरकारले नीति, योजना र सहुलियतमार्फत सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

    उद्यमी राेकाले बाँसजन्य सामग्री उत्पादनमार्फत स्वरोजगारमा जोड दिँदै स्थानीय युवालाई सीपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्दै आएको जानकारी गराउनुभयो । उहाँले उत्पादन, बजारीकरण र प्रविधिमा थप सहयोगको आवश्यकता रहेको बताउँदै प्रदेश सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।

    मुख्यमन्त्री आचार्यले स्थानीय स्रोत र ज्ञानमा आधारित उद्यमशिल प्रयासहरूलाई प्रोत्साहन गर्दै, समृद्ध प्रदेश निर्माणको याेजनालाई कार्यान्वयनमा लगिएको जानकारी दिनुभएकाे हाे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation