
लुम्बिनी,१० साउन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक गर्नुभएको छ । रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्रीले पौडेलले सार्वजनिक गर्नुभएको हो ।
विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ विगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौं सभा बैठकले स्वीकृत गरेको थियो ।
सभाबाट स्वीकृत गुरुयोजना उपप्रधानमन्त्री पौडेलले शुक्रबार सार्वजनिक गर्दै गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताउनुभयो । ‘गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ, उहाँले भन्नुभयो,–‘हामीहरु साथ र सहयोग गर्न सधैं तत्पर छौं ।’
०५१ सालमा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको क्षण स्मरण गर्दै अहिले विश्वविद्यालयको स्वरुपमा पुगेको बताउनुभयो । ‘यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रुपमा स्थापित हुन सक्छ, उहाँले भन्नुभयो,–‘शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाईमा पु¥याउनुपर्छ ।’
बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउदा विश्वविद्यालय अझै प्रभावकारी रुपमा अघि बढेको उहाँको भनाई थियो । विश्वविद्यालयलाई लुम्बिनी र गौतम बुद्धका रुपमा ब्राण्डिङ गर्न सहज हुने भएकाले त्यसको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा फैलाउन निर्देशन समेत दिनुभयो ।
८० अर्बको गुरुयोजनाका मूर्तरुप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्ने उहाँले बताउनुभयो । पूर्वाधार विकाससंगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकोमा चिन्ता समेत व्यक्त गर्नुभयो । ‘बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन, उहाँले थप्नुभयो,–‘यस्ता संस्थाहरुको नेतृत्व लौकिक मोहबाट माथि उठेको, संस्कृति, सम्पदाको महत्व बुझेको र ज्ञान भएको हुनुपर्दो रहेछ ।’
उपप्रधानमन्त्री पौडेलले देशका ठूला योजनाहरु क्रमशः बन्दै गइरहेको भन्दै त्यसको संरक्षण, सरसफाईमा हरेक नागरिक लाग्नुपर्ने बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवद्र्धनात्मक कार्यक्रम बनाइरहेको बताउनुभयो । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनले बताउनुभयो । उहाँले देवदह गुरुयोजनाको सपना छिट्टै साकार हुने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा। तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पु¥याउनुभएको योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धानहरु सरकारका नीति योजनामा पर्नेगरी गरिरहेको बताउनुभयो ।
देवदहको जग्गा प्राप्तीमा भएको कठिनाई स्मरण गर्दै उहाँले गुरुयोजना कार्यान्वयन हुँदा मुलुककै नमुना विश्वविद्यालयका रुपमा स्थापित हुने बतनउनुभयो । लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको बताउनुभयो ।
विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले सञ्चालन गरेको कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले लुम्बिनी बौद्ध विश्वविद्यालय देशकै गौरवको आयोजनाका रुपमा रहेको बताउनुभयो । उहाँले लुम्बिनीको समग्र विकासमा संघीय सरकारको विशेष चासो आवश्यक रहेको बताउनुभयो ।
विश्वविद्यालयले रुपन्देहीको खडैयामा १२ करोड ८३ लाखको लागतमा एक सय जना विद्यार्थी बस्ने क्षमताको अन्तर्राष्ट्रिय होस्टेल निर्माण गर्न लागेको हो । सो निर्माण बीस महिनाभित्र सकिने अपेक्षा रहेको छ । विश्वविद्यालयमा हाल करिव २ सय विदेशीसहित ३ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।