रौतहटमा करेन्ट लागेर ३ दिनमा ३ किसानको मृत्यु

  • रौतहट,८ साउन । रौतहटमा करेन्ट लागेर आज एक जना किसानको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका-७ पथरा गाउँका ४८ वर्षीय चन्देश्वर बैठा छन् ।चन्देश्वर बिहीबार दिउँसो धान खेतमा पानी लगाउन गएका थिए । त्यही बेला अर्का किसान मोसाफिर साह तेली पनि आफ्नो खेतमा सिँचाइ गर्न पुगेका थिए । तेलीले विद्युतीय मोटर चलाएर सिँचाइ गरिरहेको समयमा तार सर्ट हुन पुग्दा बैठालाई करेन्ट लाग्न पुगेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
    अपराह्न ४ बजेतिर करेन्ट लागरे घाइते भएका बैठालाई उपचारका लागि गौर प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक रायले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । यो घटनासँगै रौतहटमा तीन दिन यता करेन्ट लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि खेतमा सिँचाइ गर्ने क्रममा बुधबार बिहान मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लाग्दा माधवनारायण नगरपालिका-४ विसुनपूर्वा मानपुरका रामबाबु मुखियाको मृत्यु भएको प्रहरी कार्यालयले जनायको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation