
तिलोत्तमा ४ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मानवसेवा आश्रममा दराज र खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार आश्रममा पुगेर सहयोग गरेको हो । बैंकका लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सरोज पोखरेलले आश्रमलाई ४ थान स्टिल दराज र खाद्यान्न सहयोग गरिएको जानकारी दिए । उनका अनुसार दाल, चामल, तेल, नुन लगायतका खाद्यान्न सहयोग गरिएको हो । बैंकले हरेक वर्ष आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यान दिँदै विभिन्न ठाउँमा सहयोग गर्दै आएको उनले बताए । मानवीय सेवामा समर्पित मानवसेवा आश्रमलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको उनले जनाए । उनका अनुसार दराज र खाद्यान्न गरी करिब १ लाखको सामान आश्रमलाई सहयोग गरिएको हो । ‘हामीले आगामी दिनमा मानवसेवा आश्रमसँग सहकार्य गरी यस्ता सहयोगलाई निरन्तर दिँदै जानेछौं’, उनले भने, ‘आवश्यक सहयोग चाहिएमा आश्रमले नजिकको बैंकको शाखा कार्यालयहरुमा पुगेर सहकार्य गर्न सक्छ । सहयोगका लागि हामी सधैं तत्पर छौं ।’
बैंकका मणिग्राम शाखा प्रबन्धक भविश्वर डुम्रेले बैंकले सधैं सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएको जनाउँदै मानवसेवा आश्रमले सडकमुक्त मानव बनाउन थालेको अभियानलाई सधैं सहयोग गर्दै जाने बताए । उनले आवश्यकताका आधारमा बैंकले हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । आश्रमकी प्रदेश संयोजक सरु अधिकारीले मानवीय सहयोगको महाअभियानमा जोडिएर सहयोग गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गरिन् । उनले नेपाललाई सडक मानवमुक्त बनाउने अभियानमा आफूहरु लागिपरेको जनाउँदै सबैको साथ, सहयोग र सहकार्य जरुरी रहेको जनाइन् । उनका अनुसार हाल तिलोत्तमाको आश्रममा १४० जना आश्रित छन् । केही बालबालिकालाई आश्रमले पठनपाठन गराउँदै आएको छ । सहयोग सामाग्री प्रदेश संयोजक अधिकारीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बैंकको प्रदेश कार्यालयका निमा सापकोटा, दिवाकर थापा लगायत सहयोग सामाग्री लिएर मानसेवा आश्रम पुगेका थिए ।