
काठमाडौँ,३ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्न सक्ने पूर्वानुमान भएकाले इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारी स्वरूप सतर्कता अपनाउन आग्रह गरेको हो ।
“इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्व सूचना आदानप्रदान गर्ने सम्झौताअनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ,” इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभागले यही साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ ।”इप्पानले विपद्को बेलामा सबैभन्दा पहिला मानवीय क्षति हुन नदिन जलविद्युत आयोजनाका प्रवर्द्धकहरूलाई आग्रह गरेको छ । त्यसका लागि सबै नदी करिडोरका माथिल्लो भागमा निर्माण भएका जलविद्युत आयोजनाहरूले बाढी आएको देखिसकेपछि तल्लो तटीय क्षेत्रमा निर्माण भएका आयोजनाहरूलाई समयमै बाढीको सूचना दिएर सञ्चालनमा रहेका आयोजनाहरू भए विद्युत् प्राधिकरणलाई समेत सोको जानकारी गराई आयोजनाका गेटहरू बन्द गरी सुरक्षित स्थानमा जानका लागि सहकार्य गर्न पनि इप्पानले सबै जलविद्युत प्रवर्द्धकहरूसँग आग्रह गरेको छ ।
बाढी आएको सूचना सबैभन्दा पहिला मौसम विज्ञान विभागका गेज स्टेसनमा बस्ने कर्मचारीहरूलाई प्राप्त हुने हुँदा जलविद्युत आयोजनाका जिम्मेवार व्यक्तिहरूले उनीहरूसँग समन्वय गरी नदी करिडोरमा बस्ने स्थानीय बासिन्दाहरूको जिउधनको सुरक्षाको लागिसमेत स्थानीय स्तरमा सूचनाको आदान प्रदान गरिदिन पनि सबै जलविद्युत प्रवर्द्धकमा इप्पानले आग्रह गरेको छ ।
बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्दा गर्दै पनि कहीँ कतै मानवीय तथा भौतिक क्षति हुन गइहालेमा सो को जानकारी इप्पानमा गराइदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।