सिआइबीले दूतावाससँग माग्यो भिजिट भिसामा स्पेन जानेहरूको विवरण

  • काठमाडौँ,२ साउन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालबाट स्पेन जानेहरूको विवरण पठाउन दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गरेको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको स्पेनको कार्यक्रममा केही नेपालीहरू भिजिट भिसामार्फत पुगेको र स्वदेश नफर्किएको विषय संसदमा उठेपछि यसबारे सिआइबीले छानबिन गरिरहेको छ। सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय छानबिन समितिले यसबारे अध्ययन तथा अनुसन्धान अघि बढाएको हो।
    गृहमन्त्री रमेश लेखकले स्पेनको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गएको प्रतिनिधि मण्डलबाहेक पनि कोही गएका छन् भने त्यसबारे छानबिन गर्न निर्देशन दिएका थिए।
    प्रधानमन्त्री ओलीको सचिवालयले भने प्रधानमन्त्रीसँग स्पेन गएका सबै फर्किसकेको बताइसकेको छ।
    भिजिट भिसामार्फत स्पेन गएकाहरूबारे असार ३१ गतेदेखि एसएसपी बोगटीको नेतृत्वको समितिले अनुसन्धान गरिरहेको हो।यसबीचमा सिआइबीले नयाँ दिल्लीस्थित स्पेनी दूतावासलाई पत्र लेखेको हो। नेपालमा स्पेनको दूतावास छैन।
    प्रधानमन्त्री ओलीको भ्रमण दल असार १४ गते काठमाडौंबाट सेभिल्लाका लागि प्रस्थान गरेको थियो।कतिपय व्यक्तिहरू गैरसरकारी संस्थाका प्रतिनिधि बनेर त्यहाँ पुगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा स्पेन उडेकाहरूको सूची अध्यागमनबाट लिएर छानबिन समितिले राहदानी विभागलाई उनीहरूको विवरण पठाउन भनेको छ ।
    छानबिन समितिका एक सदस्य भन्छन्, ‘शङ्कास्पदहरूले पासपोर्ट लिँदाको विस्तृत विवरण पठाउन राहदानी विभागलाई पनि पत्राचार गरेका छौँ ।’ स्पेन जानेहरूले आफ्नो कागजात बालुवाटारस्थित बिएलएस सेन्टरमा बुझाएको र त्यहाँबाट सो सेन्टरले दिल्ली पठाएपछि भिसा लागेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation