
बुटवल,२८ असार । रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापकलाई करोडौं रकम अपचलनको आरेपमा प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त सहकारीमा करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको छ । सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई सहकारी संस्थाको कार्यालयबाटै शुक्रबार साँझ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।पराजुलीविरुद्ध सहकारीका शेयर सदस्य र बचतकर्ताहरुले ठगीको आरोपमा उजुरी दिएका थिए । अदालतले पक्राउ पुर्जी जारी गरेकाले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको रानाले बताए । आज शनिबार भएकाले आइतबार अदालतबाट म्याद थपका लागि लगिने डीएसपी रानाले बताए । व्यवस्थापक पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ देखिएको र उक्त रकम सहकारीलाई तिर्ने कबुलियतनामा २०८२ साल जेठ ५ गते गरिएको थियो । त्यसपछि उनलाई संस्थाले निलम्बन गरेको थियो । पराजुलीले तिलोत्तमाको शान्तिचोकमा खाजा खजाना होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । तमसुकमा ऋणी देखाइएका छोरी र छोरालाई नै साक्षी बसालेकोले सहकारीका अध्यक्ष र सचिवले यो कागज गराएर निलम्बित गरेका हुन् वा व्यवस्थापक पराजुलीले आफैँ गरेका हुन् भन्ने तथ्य अडिट रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ । सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्रीविरुद्ध पनि बचतकर्ताहरुले ठगीको उजुरी दिएका छन् । डीएसपी रानाले भने अनुसन्धान भइरहेकाले अध्यक्ष र सचिवबारे अहिले भन्न नमिल्ने बताए ।
सहकारीमा कुल कति रकम बचत थियो र कति सदस्य आबद्ध थिए भन्ने यकिन छैन । सञ्चालक समितिका केही पदाधिकारीका अनुसार कम्तीमा १५ करोडदेखि २५ करोड रूपैयाँसम्म हिनामिना भएको आशंका छ ।