रामपुर नगरपालीकाको वित्तीय प्रगति ८७ प्रतिशत

  • रामपुर २७ असार ।पाल्पाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु र पुँजीगत दुवै गरी ८७ प्रतिशत वित्तीय प्रगती हासिल गरेको हो ।
    चालु आर्थिक वर्षका लागि रामपुर नगरपालिकाले कुल ७४ करोड ११ लाख ४ हजार बजेट विनियोजन गरेको थियो । जस अन्तर्गत ६४ करोड ७१ लाख ४ हजार ५ सय ७४ रुपैया खर्च भएको छ । कुल बजेटको ८७ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बनाउनुभयो । त्यसैगरी चालु आर्थिक वर्षमा पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार रुपैयाँ वजेट विनियोजन भएकोमा १५ करोड १६ लाख ३४ हजार ५ सय ७४ रुपैया खर्च भएको छ । पुँजीगत तर्फ यो खर्च रकम ७९ दशमलव ०१ प्रतिशत हो ।त्यसैगरी चालु बजेट तर्फ रामपुर नगरपालिकाले ५४ करोड ९१ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६।४८ रुपैया खर्च भएको छ । चालुतर्फ यो आर्थिक वर्षमा रामपुर नगरपालिकाको वित्तीय प्रगति ९० दशमलव २२ प्रतिशत हो । गत आर्थिक वर्ष २०८०/०८१ मा ८१ प्रतिशत वित्तीय प्रगति गरेको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ६।३१ प्रतिशतले बढी वित्तीय प्रगति भएको रामपुर नगरपालिकाका लेखा शाखा प्रमुख सीता न्यौपानेले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो ।
    यो आर्थिक वर्षमा ३ सय ८९ वटा विभिन्न योजनाको काम सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । नगरपालिकाको ४ सय ३ वटा योजना रहेकोमा १४ वटा योजना सम्पन्न नभएको जसमध्ये ९ वटा सम्झौता नभएको र ५ वटा सम्झौता भएर पनि काम नभएको उहाँले बताउनुभयो । ठेक्का प्रक्रिया र उपभोक्ता मार्फत हुने योजना समयमै सुरु भई सम्पन्न भएका कारण यस वर्ष वित्तीय प्रगति गत वर्ष भन्दा बढी भएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो ।नगरपालिका भित्र सञ्चालन हुने योजनाहरुको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको उपप्रमुख तथा अनुगमन समितिका संयोजक बाल कुमारी थापाको भनाई छ । साथै पटक पटकको अनुगमनले सञ्चालन भएका कार्यक्रम तथा योजना प्रभावकारी र गुणस्तरीय रहेको उहाँले बताउनुभयो ।नगरबासीको सेवा सहजताका लागि घुम्ती शिविर मार्फत योजना सम्झौता,खाता खोल्ने र भुक्तानीको व्यवस्था गरेको र वडा ÷वडा मै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । योजना कार्यान्वयनका लागि सहजिकरण गरेका कारण पनि ठेक्का मार्फत भएका योजना सहज रुपमा समयमै सम्पन्न भएको नगर प्रमुख थापाले बताउनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation