भैरहवा भन्सारमा देखिएका समस्या समाधान गर्न उद्योगी–व्यवसायीको आग्रह

  • भैरहवा, २५ असार । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भन्सार सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । संघको सभाहलमा मंगलबार भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, रुपन्देही क्षेत्रका उद्योगी–व्यवसायीहरु र सञ्चारकर्मीहरुको सहभागीता थियो ।
    कार्यक्रममा भन्सार विन्दुमा हुने झन्झट, भन्सार सर्भरको कारण देखाउँदै गरिने ढिलासुस्ती, कर्मचारीले गर्दा पर्ने समस्या तथा पार्किङ्मा देखिएका विलम्बका विषयमा सहभागी उद्योगी व्यवसायीले गुनासो गरेका थिए ।सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भैरहवा भन्सार कार्यालय नेपालको प्रमुख भन्सार भएकाले यसलाई व्यवस्थित र व्यापार सहजीकरणमा सवै क्षेत्रले भूमिका खेल्नुपर्ने बताए । ‘यो भन्सारले वस्तुको निकासी र पैठारीमा सहज वातावरण सिर्जना गर्नुपर्छ । यसका लागि भन्सार कार्यालय र भन्सार एजेन्ट संघले सरलीकृतरुपमा काम गर्नुपर्यो’, उनले भने ।

    संघका निर्वतमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भन्सारमा वस्तुको निकासी र पैठारीमा उद्योगी व्यवसायीले समस्या भोगिरहेको जनाउँदै तुरुन्त समाधान गर्नका लागि आग्रह गरे । भन्सार कार्यालय र अन्नपूर्ण टर्मिनल विचको समन्वयको अभाव देखिएको भन्दै यो समस्याले व्यवसायीहरुलाई आर्थिक रुपमा नोक्सानी पुराएको उनले गुनासो गरे ।

    पञ्चकन्या समूहका महाप्रवन्धक देबेन्द्र साहुले भैरहवा भन्सार कार्यालयले विभिन्न वाहानामा ढिलासुस्ती गर्दा बस्तुको उत्पादनमा लागत खर्च बढेको जनाए । उनले भन्सार भित्रको पार्किङ, सर्भर र बैंकिङ प्रणालीमा देखिएका समस्या समाधानका लागि प्रमुख भन्सार अधिकृत समक्ष आग्रह गरे ।

    भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष मधुप्रसाद पन्थीले यो भन्सार नाका सुकाउनका लागि विभिन्न बाहानामा समस्या पार्ने कार्य भइरहेको भन्दै यस्ता तत्वहरुको निवारण गर्नका लागि सवै एकजुट भएर लाग्नुपर्ने बेला भएको बताए । ओभरलोडको नाममा समस्या सिर्जना भएको भन्दै देशको अन्य नाकामा नभएको नियम यहाँ लागु गर्न खोज्दा यो भन्सारबाट हुने निकासी र पैठारीको कार्य अन्य भन्सार नाकामा सरेको जनाए ।

    संघका कार्यसमिति सदस्य तथा पर्यटन व्यवसायी कैलाश गुप्ताले भारतीय पर्यटकहरु आफ्नै सवारी साधन मार्फत् नेपाल आउँदा भन्सार सुविधाको नाममा भन्सार विन्दुमा देखिएको ढिलासुस्तीले समस्या पार्ने गरेको जनाए । ‘विश्व अहिले आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रवेश गर्दा पनि नेपालमा पुरानो प्रणालीको प्रयोग गर्दा पर्यटकले सीमा नाकामा नै दुःख पाउने गरेका छन्’, उनले भने ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, संघका पूर्वअध्यक्ष बिष्णुप्रसाद शर्मा, व्यवसायी हरिष सेठिया, लक्ष्मी स्टिलका प्रतिनिधि दामोदर पौडेलले वस्तु निकासी र पैठारीमा भन्सार कार्यालयमा देखिएको सफ्टवेयर तथा सर्भर डाउन र ढिलासुस्तीका विषयहरु प्रमुख भन्सार अधिकृतलाई जानाकारी गराएका थिए ।

    प्रमुख भन्सार अधिकृत रेग्मीले व्यापार सहजीकरणका लागि भन्सार कार्यालयहरुले काम गर्ने गरेको बताउँदै नेपालको भन्सार प्रशासन भारत र चीनको भन्सार प्रक्रिया भन्दा अगाडि रहेको दावी गरे । उनले भन्सारका समस्या सुधारका लागि अन्तरक्रिया गरिएको बताउँदै उद्योगी व्यवसायीहरुले उठाएका जायज मागहरु तुरुन्त समाधानका लागि आफूले प्रयास गर्ने जानकारी दिए । भन्सार प्रशासनले प्रयोग गर्ने आशीकुडा सफ्टवेयरको सर्भरमा देखिने समास्या प्राविधिक समस्या भएको भन्दै विस्तारै सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation