निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको अर्थमन्त्री पौडेलद्वारा निरीक्षण

  • बुटवल,२२ असार । निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षण तथा अवलोकनकै क्रमामा अर्थमन्त्री पौडेलले भवन निर्माणमा हालसम्म भएका प्रगति विवरण बारे पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलसँग जानकारी लिएका छन् ।अर्थमन्त्री पौडेल समक्ष कार्यकारी अधिकृत पोखरेलले निर्धारित समयभन्दा १ वर्षअघि नै योजना सम्पन्न गर्ने प्रतिवद्धता गरे । ‘कुनै आर्थिक संकट वा ठूलो विपत्ती आइपरेन भने ५ वर्षमा सक्नुपर्ने काम हामीले ४ वर्षमै सम्पन्न गर्छौ ।’–पोखरेलले भने । प्रादेशिक अस्पतालको भवन निर्माणमा २६ प्रतिशत बढी प्रगति भएको छ ।
    अस्पतालको स्थलगत निरीक्षणमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, लगायतको उपस्थिती रहेको थियो । यसैगरी अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा। इन्द्र ढकाल लगायत अस्पताल परिवारले अर्थमन्त्री पौडेलसहितको अनुगमन टोलीलाई स्वागत गरेको थियो ।
    लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको अस्पताल भवन निर्माणका लागि दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहितका लागि आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ रहने अनुमान गरिएको छ । भवन निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थालाई दिइएको छ । वि।सं। २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको हो । प्राधिकरणका साइट इन्जिनियर सुवेदीले पाँच वर्षको म्याद २०८५ पुस २५० भित्र ६ अर्ब १८ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए । उनका अनुसार नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको छ । अहिले सोहीअनुरुपको निर्माण कार्य भइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation