
तनहुँ २२ असार । आज हरिशयनी एकादशी, नेपालीले घर-घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।
हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।
यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रीहरुले बताएका छन् ।