रामपुरको मनभागामा घरमै खानेपानीको धारा

  • पाल्पा,२० असार । पाल्पाको रामपुर नगरपालीका १० माथिल्लो मनभागाका स्थानीयको पिउने पानीको घण्टौँ समय खर्चेर जोहो बाध्यता अन्त्य भएको छ । एक गाग्री पानीको लागि खोल्सा खोल्सीमा जम्मा भएका पानी संकलन गर्न ५ देखि ६ घण्टा सम्म हिडेर जानु पर्ने मनभागाबासीको यो बाध्यता खानेपानी योजना सम्पन्न भए संगै हटेको हो । यो बाध्यता हटे संगै स्थानीय खुशी भएका छन । राती नै अगुल्ठो लिएर जानु पर्ने र खोल्सा खोल्सीमा कचौराले खोस्रेर जेनतेन पानी ल्याउनु पर्ने कष्टकर दैनिकी हटेपछि रामपुर १० माथिल्लो मनभागाकी अमिता थापाको खुशीको सिमा छैन ।

    विगतमा मुस्किलले पाईने खोल्साको धमिलो पानी खानु पर्ने बाध्यता रहेको र अहिले घरमै शुद्ध खानेपानी सहितको धारा आएपछि दैनिकी नै फरिएको थापा बताउनुहुन्छ । “खोलामा गए पनि पर्याप्त पानी पाइदैनथ्यो , धमिलो भए पनि पिउनै पर्ने हुन्थ्यो ,नुहाउन धुन त परको कुरा” उहाँले भन्नुभयो, “अहिले त घरमै धारा छ २४ सै घण्टा पानी आउँछ सजिलो छ ,स्वर्ग कै अनुभूति हुन्छ ।” गाउँमा खानेपानी र विजुली बत्ति आए पछि धेरै सुविधा भएको थापाले बताउनुभयो ।पानीको धेरै समस्या भएको र अरु काम छोडेर एक गाग्री पानीका लागि घण्टौँ समय विताउनु पर्ने बाध्यता खानेपानी योजना सञ्चालनमा आए संगै हटेको छम बहादुर गाहाले बताउनुभयो। खानेपानीको जोहो गर्नका लागि खर्चनु पर्ने समय अहिले खेतिपाती र अन्य काममा सदुपयोग गर्न पाएकोमा गाहा खुशी हुनुहुन्छ ।खानेपानीको धारा घरमै आए पछि समयको बचत संगै धेरै सहज भएको तल्लो मनभागाका तहल सिं खाम्चाले बताउनुभयो ।

    रामपुर नगरपालिकाको १७ लाख ५० हजार र उपभोक्ताको ४ लाख २१ हजार ६ सय रुपैयाँ नगद र जनश्रमदानमा २२ हजार लिटर क्षमताको पानी टंकी निर्माण गरि लिफ्टिङ मार्फत योजना सम्पन्न गरि घर घरमा पानीको धारा वितरण गरिएको माथिल्लो मनभागा खानेपानी योजनाका सचिव थान बहादुर गाहाले बताउनुभयो । पहिले ३६ घरले प्रयोग गर्दै आएको खानेपानी केही बसाई सराई र केही राजनितिक प्रतिशोधका कारण उपभोग गर्ने घर संख्या घटेर १८ घरधुरीले पानी खाँदै आएको उहाँले बताउनुभयो ।शुद्ध खानेपानीको समस्या समाधान हुँदा खुशी हुनु भएका गाहा पिउने पानीकै लागि पनि राजनितिक प्रतिशोधले अप्ठेरो पर्दा भने नराम्रो लागेको बताउनुहुन्छ । खानेपानी योजनाका लागि धेरै निकायमा पहल गर्दा पनि बजेटको व्यवस्थापन नभएको र २०७४ को निर्वाचन पश्चात रामपुर नगरपालिकाले खानेपानी योजनाका लागि बजेटको व्यवस्था गरे पछि आफुहरुको खानेपानीको सपना पुरा भएको समितिका अध्यक्ष दिल बहादुर सिंजालीले बताउनुभयो ।

    वडाको भौगोलिक विकटता र बजेटको अभावमा समयमा सहज रुपमा शुद्ध खानेपानी खुवाउन नसकिएको रामपुर १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले बताउनुभयो । थोरै बजेटमा सम्पन्न हुने योजनाका लागि वडा र नगरबाट बजेटको व्यवस्था गरे पनि प्रदेश र संघीय सरकारले ध्यान नदिंदा वडाका सबै स्थानमा खानेपानीको समस्या समाधान गर्न नसकिएको वडा अध्यक्ष थापाको भनाई छ ।नगरबासीको आधारभूत आवश्यकतालाई पुरा गर्न दुरदराजका जनतालाई खानेपानीको व्यवस्थाका लागि विभिन्न योजना सञ्चालन गर्दै आएको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

    जनताको आवश्यकतालाई पुरा गर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै आवश्यकताको आधारमा काम गर्दै आएको बताउनुभयो । पहिलो निर्वाचनको प्रचार प्रसारका क्रममा पानीको अवस्था देखेर चुनाव हारे पनि जिते पनि पानि खुवाउने प्रतिबद्धता गरे अनुसार खानेपानी योजना सम्पन्न गरेको उहाँले बताउनुभयो । २०७४ को निर्वाचनमा मत माग्ने क्रममा पानी खान बस्दा दुख लाग्दो पानीको अवस्था देखेँ उहाँले भन्नुभयो – मैले चुनाव जितुँला या नजितुँला तर तपाईहरुलाई पानी खुवाउने दायित्व मेरो भयो म जसरी पनि पानी खुवाउँछु भनेको थिएँ सोही अनुसार योजनाका लागि बजेटको व्यवस्था गरेको हुँ । स्थानीयको लगनशिलता र मेहेनतले आफुले गरेको प्रतिबद्धता पुरा गरेको भन्दै जनताको आवश्यकता अनुसार काम गर्दै आएको उल्लेख गर्नुभयो । नगरबासीको आवश्यकता पुरा गर्नका लागि तीनै तहका सरकार र सरोकारवालाविच समन्वय र सहकार्य गरेर अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो ।

    माथिल्लो मनभागा खानेपानी योजना सम्पन्न गर्नका लागि रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५मा ८ लाख , २०७५/७६ मा ५ लाख , २०७८/०७९ मा १ लाख ५० हजार र २०७९/८० मा ३ लाख रुपैयाँ गरि १७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । रामपुर नगरपालिका वडा नं।१० को मनभागामा टोकलोक डि बाट लिफ्टिङ मार्फत २२ हजार लिटर क्षमताको टंकी निर्माण गरि १८ घर परिवारलाई शुद्ध पिउने पानी वितरण गर्दै आएको छ । खानेपानी योजनाको एक कार्यक्रमकाविच उद्घाटन गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation