जंग बहादुर शाहको ‘इति ह आस’ लोकार्पण

  • असार–१४, बुटवल। लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा ‘इति ह आस’ कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
    साहित्यकार जंगबहादुर शाहद्वारा लिखित ३९६ पृष्ठमा संरचित ‘इति ह आस’ कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि माक्र्सवादी सौन्दर्यशास्त्री दिल साहनीले गर्नुभएको हो ।
    २३ वटा कथाहरू समेटिएको ‘इति ह आस’ कृतिमा देवलोक ठानिने पश्चिम एशियाको कश्यप सागर (क्यास्सियन सी) वरपरदेखि आजको पाकिस्तानसम्मको भूगोल र आर्यहरूको प्रवासनको इतिहासलाई समेटिएको छ ।
    कार्यक्रममा डा. मुरारि पराजुली, दुर्गा पौड्याल, विजय सागर र रमेश पाण्डेले कृतिको समीक्षा गर्दै कृतिमा पौराणिक विषयवस्तुलाई समेटेर युद्ध र प्रेमको कथा बुनिएको बताउँदै पूर्वीय दर्शन, वेद र पुराणमा वर्णित ब्रह्मा, विष्णु, पशुपति, शङ्कर, सरस्वती, लक्ष्मीलगायत विविध देवीदेउताका यौन, कपटीपन, प्रेम र युद्धका विषयलाई समेटिएको तथा ती कुराहरूको प्रभाव कहीँ कतै वर्तमान समयमा पनि परिरहेको बताउनुभयो ।
    लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादको अध्यक्षता, प्राज्ञ बूँद रानालगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तिलक लामिछानेले स्वागत र साहित्यकार रामचन्द्र श्रेष्ठले विषय प्रवेश तथा पुस्तक प्रकाशनको प्रारम्भिक जानकारीसम्बन्धी मन्तव्य तथा जंगबहादुर शाहले लेखकीय मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।
    कार्यक्रममा ८० भन्दा बढी साहित्यकारको उपस्थिति रहेको थियो भने डा. बालकृष्ण चापागाई, डा. अजित खनाल, पुनाराम पोख्रेल, डि.आर घिमिरे, रुद्र ज्ञवाली, बनमाली निराकार, डा. लक्ष्मी पोखरेल कोकिलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्ष ऋषि आजादले वाङ्मयले भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा निरन्तर कार्य गर्दै जाने बताउनुभयो ।
    कार्यक्रममा प्रतिष्ठानले ‘इति ह आस’ कृतिका लेखक जंग बहादुर शाहलाई वरिष्ठ आख्यानकार र दिल साहनीलाई माक्र्सवादी सौन्दर्यशास्त्रीको उपाधिसहित मायाको चिनो प्रदान गरेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation