शिक्षामा बुटवलको छलाङ्ग ‘गोठ’ देखि ‘डिजिटल लनिङ्ग’ सम्म

  • बुटवल ।
    बुटवल १० कालिका नगरमा रहेको कालिका मानज्ञान माविको ईतिहास गोठबाट सुरुवात भएको थियो । एउटा गोठबाट सुरुवात भएको यो विद्यालय देशकै उत्कृष्ठ सामुदायिक विद्यालयको रुपमा पहिचान बनाउन सफल भएको छ ।
    रुपन्देहीको बुटवल आज शिक्षाको नयाँ पहिचान बनाउँदैछ । विद्यालयदेखि विश्वविद्यालय, प्रविधि, स्वास्थ्य, कृषि, व्यवस्थापनदेखि अनुसन्धानसम्मका शैक्षिक आयामहरू विस्तार हुँदै गएको बुटवलले अबको केही वर्षमा लुम्बिनी प्रदेश मात्र होइन, देशकै प्रमुख शैक्षिक केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने संकेत देखाइसकेको छ ।
    योजना, लगानी, नेतृत्व र सहभागीताको निरन्तरताले मात्र यो सपना साकार हुनेछ । आर्थिक तथा शहरी पूर्वाधारको गतिशील केन्द्रको रूपमा विकास हुँदै आएको बुटवल पछिल्लो दशकमा शैक्षिक क्षेत्रको गुणात्मक विकासले शैक्षिक हबको रूपमा स्थापित हुँदै गएको छ ।शिक्षा, स्वास्थ्य, कृषि, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, कानुन लगायतका विभिन्न संकायमा अध्यापन हुने शिक्षालयहरूको विस्तार, शैक्षिक गुणस्तरमा भएको सुधार, विद्यार्थीको आकर्षण र विगत र अहिलेका जनप्रतिनिधिहरूद्वारा चालिएका रणनीतिक कदमहरूले बुटवललाई शैक्षिक गन्तव्यको रूपमा अघि बढाइरहेको छ ।
    हाल बुटवल उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित ९७ विद्यालयहरू (३९ सामुदायिक, ५८ संस्थागत) मा करिब ७५ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । त्यसै गरी, बुटवलमा सञ्चालित २५ वटा क्याम्पसहरूमा ३० हजार भन्दा बढी विद्यार्थीहरू स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन् । स्वास्थ्य, व्यवस्थापन, मानविकी र प्रविधि क्षेत्रका कलेजहरूमा वर्षेनी भर्ना दर उल्लेखनीय रूपले वृद्धि हुँदै गएको छ । छिमेकी जिल्ला पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, कपिलवस्तुलगायत लुम्बिनी प्रदेशभरीका विद्यार्थीहरू बुटवललाई शैक्षिक केन्द्रको रूपमा रोज्ने क्रम तीव्र भएको छ ।
    एउटा बिडम्बनाका रुपमा यहाँका केही स्वास्थ्य प्राविधिक कलेजहरुलाई बन्द गराइएपछि भने ती विषयमा पठनपाठन हुने गरी सीमापारी भारतीयले थुप्रै कलेज सञ्चालन गरेका छन् । जहाँ हजारौं नेपाली विद्यार्थीहरु स्वास्थ्य प्राविधिक विषयको अध्ययनका लागि गइरहेका छन् । यो यसअघिको संघीय सरकारले ल्याएको नीतिका कारणले भएको हो ।
    विगतमा काठमाडौं, भारतको दार्जिलिङ, देहरादुन वा अन्य सहरहरू जानुपर्ने बाध्यता अब हट्दै गएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) देखि स्नातकोत्तर तहसम्मका नतिजामा बुटवलका विद्यार्थीहरू देशैभरी अब्बल देखिँदै आएका छन् । उदाहरणस्वरूप, पछिल्लो तीन वर्षमा एसईईमा प्रदेशकै उच्चतम नतिजा दिने विद्यार्थीहरू बुटवलका विद्यालयबाट आएका छन् ।
    देशभर विद्यार्थी संख्या धेरै भएका सामूदायिक विद्यालयमध्ये ३ वटा–कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि र कान्ति मावि बुटवलमा अवस्थित छन् । यी विद्यालयहरूले शैक्षिक उपलब्धिमा मात्र होइन, भौतिक पूर्वाधार, प्रविधि प्रयोग र सामाजिक उत्तरदायित्वमा पनि उदाहरणीय भूमिका निर्वाह गर्दै आएका छन् ।
    नगरप्रमुख खेलराज पाण्डेय बुटवललाई मुलुककै आकर्षक शैक्षिक हब बनाउने गरी काम भइरहेको बताउँछन् । उनले नीति तथा कार्यक्रम नै बनाएर शैक्षिक विकासका काम भइरहेको बताए ।
    बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कुल बजेटको २६ प्रतिशत अर्थात् ६ करोड रुपैयाँ आन्तरिक स्रोतबाट छुट्याएको छ । शिक्षा शाखा प्रमुख टीका पन्थीका अनुसार विद्यालयस्तरीय पूर्वाधार निर्माण, शिक्षक तालिम, डिजिटल शिक्षा कार्यक्रम, सीपमूलक तालिम तथा छात्रवृत्तिमा प्राथमिकता दिइएको छ ।
    बुटवलमा हाल ३९ सामुदायिक र ५८ संस्थागत विद्यालय छन् । त्यस्तै, चार मदरसा, एक धार्मिक विद्यालय र तीन प्राविधिक शिक्षालयहरू सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त २५ वटा क्याम्पसहरू बुटवलमा सञ्चालनमा छन् । उल्लेखनीय क्याम्पसहरूमा बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस (सरकारी), बुटवल कालिका क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस (संस्थागत) रहेका छन् ।
    बुटवलको शैक्षिक विकासमा विगतदेखि नै पहलहरु भइरहेका छन् । विगतमा जनप्रतिनिधिहरू विशेषतः उपमहानगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरु, प्रदेश सांसद्, शिक्षा समितिका सदस्यहरूको पहलमा सिंगो बुटवल एक विद्यालय, सामूदायिक विद्यालयहरूमा स्मार्ट क्लासरूम, इन्टरनेट, पुस्तकालय र विज्ञान प्रयोगशालाको विकासमा जोड दिइएको थियो । सोहीबमोजिम सामूदायिक विद्यालयहरुमा विज्ञान र कम्प्युटर प्रयोगशालाहरु स्थापना भएका थिए । अहिले यसलाई अझ विस्तार गर्ने काम भइरहेको छ । सिंगो बुटवल एक विद्यालयको अवधारणा भने अहिले रोकिएको बताइएको छ ।
    लोक सेवा, शिक्षक सेवा, अनुसन्धान तथा तालिमका लागि देशभरका विद्यार्थीहरू बुटवल आउने गरेका छन् । अध्ययन अवलोकन गर्न विदेशी शैक्षिक विज्ञहरू आउने क्रम पनि बढ्दो छ । यसले बुटवलमा शैक्षिक बहस, अन्तरक्रिया र नवप्रवर्तनको वातावरण सिर्जना गरेको उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालको भनाइ छ ।
    सबै विद्यालयमा डिजिटल सामग्री, स्मार्ट बोर्ड, कम्प्युटर र इन्टरनेट पहुँच सुनिश्चित गर्नु । स्थानीय भाषामा ई–लर्निङ सामग्री विकास, शिक्षकलाई डिजिटल तालिम, दूरशिक्षाको अवसर विस्तारको खाँचो देखिन्छ ।
    कमाउँदै पढ्दैको कार्यक्रम ल्याउनुपर्छ । युवाहरु कक्षा १२ उत्तीर्ण भएपछि विदेश जाने प्रवृत्ति ज्यादा छ । यसलाई रोक्न जरुरी छ । कामका लागि विदेश जानुपर्ने बाध्यतालाई कम नगरेसम्म युवालाई विदेश जाने विकल्प दिन सकिन्न । त्यो विकल्प भनेको कमाउँदै पढ्दैको कार्यक्रम हो ।
    बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार तथा शिक्षा मन्त्रालयले संयुक्त रूपमा बुटवललाई ‘स्मार्ट शैक्षिक सीटी’ को मोडलमा विकास गर्ने कार्ययोजना अघि सार्नु आवश्यक छ । यसका लागि शैक्षिक सहर गुरुयोजना तयार गर्नुपर्छ । शैक्षिक क्षेत्रका लगानीकर्तालाई सहुलियत (कर छुट, अनुदान) दिनुपर्नेछ । सामुदायिक विद्यालयहरूमा गुणस्तरीयता प्रबद्र्धन गर्ने स्थायी संरचना आवश्यक छ ।बुटवल अब मात्र पढाइ हुने ठाउँ होइन, सीप, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको प्लेटफर्म बन्दै गएको छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation