
तानसेन,१ असार । पाल्पाको ऐतिहासिक श्रीनगर डाँडाको सल्लिपिरलको गलौचामा शनिबार शब्दहरूले बादल चिरे, भावनाले उज्यालो पोते र सिर्जनाहरूले डाँडोभरि सुगन्ध छरियो । बुटवल साहित्य संगमको ३२३ औं मासिक शृङ्खला, तिलोत्तमा साहित्य कला प्रतिष्ठानको १० औं मासिक शृङ्खला र वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाको संयुक्त आयोजनामा सम्पन्न ऐतिहासिक सिर्जनावाचन तथा साहित्यिक अन्तरक्रिया कार्यक्रममा ४४ जना नयाँ तथा पुराना साहित्यकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वाचित रचना माथि समालोचना गर्दै डा. मुरारि पराजुलीले विचारलाई साहित्यको प्राण बताउँदै, विचारविहीन साहित्य शिरविहीन देहजस्तै हुने, सौन्दर्यविहीन साहित्य आत्माविहीन प्रार्थनाजस्तै हुने बताए । पराजुलीले सिर्जनामा केवल दु:ख र विद्रोह होइन, आशा र शान्तिको स्वर पनि बोल्नुपर्ने बताए ।
कार्यक्रममा डा. हरिप्रसाद भण्डारीले वर्तमान साहित्यिक प्रवृत्तिमा सामाजिक–राजनीतिक सचेतना झल्किएको उल्लेख गर्दै निराशालाई चिर्दै आशाको बाटो देखाउने साहित्यको भूमिकामाथि जोड दिए । गोपालप्रसाद बस्यालले साहित्य संस्थाहरूबीचको सहकार्यले सिर्जनात्मक ऊर्जा प्रवाह हुने बताउँदै बुटवलका साहित्यकार पाल्पाको उपस्थितिमा धन्यवाद ज्ञापन गरे । यस्ता कार्यक्रमहरू पुनः आयोजना गरिने बताए ।
कार्यक्रममा वाचन गरिएका गजल, कविता, गीत, मुक्तक, हाइकु र लघुकथाहरूले कार्यक्रमलाई बहुआयामिक बनाएको थियो । कार्यक्रममा साहित्यकारहरू
शंकर भण्डारी, डा. हरिप्रसाद भण्डारी, गोपालप्रसाद बस्याल, रामप्रसाद अर्याल, कविराज पौडेल, कृष्ण गाउँले, कृष्णप्रसाद कोइराला, धातानन्द शर्मा गैरे, हरिप्रसाद पौडेल, लीलाधर पाण्डे, उद्दव देवकोटा, खगेन्द्र बस्याल, दुर्गालाल तिवारी, सलला गाहा, चन्द्रकला गुरुङ, सङ्गम अनुरागी, अर्जुन दृष्टि, विशेष जङ्ग कार्की, गोम बिक्रम, आर. बी. निश्चल, अमर भाट क्षेत्री, समिन गैरे, सरोज काफ्ले, डा. शंकरप्रसाद गैरे, गणेश नेपाली, गणेश घिमिरे, अनिसा आचार्य, नयान्सा थापा, महेन्द्र पन्थी, मनु अधिकारी, सुहाना न्यौपाने, मिमांशा बस्याल, श्रीधा पौडेल, कमल बहादुर खत्री, फणिन्द्र प्रसाद बस्याल, सिताराम घिमिरे लगायतले आफ्ना कविता, गीत, गजल, मुक्तक, हाइकु तथा लघुकथाहरू वाचन गरेका थिए ।
साहित्यिक अभिव्यक्तिहरूले श्रीनगर डाँडालाई दिनभर शब्दका गुँडले भरिएको बनायो—जहाँ प्रत्येक पङ्क्ति शिरमा फूल जस्तो लाग्थ्यो र प्रत्येक स्वर आत्माको नदीजस्तो बगिरहेको महसुस हुन्थ्यो ।
रुपन्देहीबाट २९ पाल्पाबाट १५ जना गरी ४४ जना साहित्यकारको सशक्त उपस्थितिले कार्यक्रमलाई केवल एउटा मासिक शृङ्खला होइन, एक ऐतिहासिक मिलनबिन्दु बनाइदिएको थियो—जहाँ आत्मा, अभिव्यक्ति र आकाङ्क्षाको साक्षात्कार भयो ।
कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार तथा समीक्षक डा. मुरारी पराजुलीले गरेका थिए । प्रमुख अतिथिका रूपमा डा. हरिप्रसाद भण्डारी उपस्थिति थियो भने विशिष्ट अतिथिको रूपमा वाङ्मय प्रज्ञा प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपालप्रसाद बस्याल सहभागी थिए । कार्यक्रमको स्वागत मन्तव्य हरिप्रसाद पौडेलबाट भयो भने सञ्चालनको भूमिकामा साहित्यकार कृष्ण गाउँले थिए ।