गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

  • गुल्मी,३१ जेठ । बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँप चौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्‍याउन मुस्किल भएको छ ।

    कफी विकास कार्यालयले किसानको मागअनुसार कफीका बिरुवा थोरै उत्पादन भएका कारण उपलब्ध गराउन समस्या भएको कफी विकास केन्द्र आँप चौरका प्रमुख जीवन आचार्यले जानकारी दिए ।

    मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँप चौरमा रहेको नर्सरीबाट यस पटक किसानहरूले दुई लाख कफीका बिरुवाको माग आएको आचार्यले बताए । कफी किसानहरूले यति धेरै बिरुवाको माग गरे पनि केन्द्रमा यस पटक ७० हजार मात्र बिरुवा उत्पादन भएको उनले बताए ।कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन गर्नुका साथै बिक्री वितरण गर्दै आइरहेको छ । यहाँको नर्सरीमा उत्पादित बिरुवा राम्रो गुणस्तरयुक्त मानिन्छ । यस पटक पनि गुल्मीसहित अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङलगायत ४० भन्दा बढी जिल्लाबाट कफीका बिरुवाको माग हुँदै आएको कार्यालयले जनाएको छ ।

    कफीका बिरुवाको माग धेरै भए पनि आवश्यक स्रोत र जनशक्तिको अभावका कारण मागअनुसार केन्द्रले बिरुवा उत्पादन गर्न सकिरहेको छैन । मुसिकोट नगरपालिका–५ अन्तर्गत आँप चौरमा रहेको कफी विकास केन्द्र नेपाल सरकारको संघीय बागवानी तथा राष्ट्रिय बीउ बेर्नाको स्रोत केन्द्र पनि हो । तत्कालीन राजा वीरेन्द्रले बि।सं। २०४१ मा आँप चौरमा कफी विकास केन्द्र स्थापना गरेसँगै गुल्मीमा व्यावसायिक रूपमा कफी खेती गर्न सुरु गरिएको थियो ।

    कफी विकास केन्द्रमा प्रतिबिरुवा अहिले रु। ४० मा बिक्री हुँदै आएको छ । कफी विकास केन्द्रले बगैँचा व्यवस्थापन, बीउ उमार्ने, टिप्ने र प्रशोधन गर्नेलगायतका काम गर्दै आएको छ । यसका लागि कफी उत्पादन हुने समयमा ४० देखि ५० जना व्यक्तिले अस्थायी रूपमा रोजगारी पाउने गरेका छन् । केन्द्रमा कफी पल्पिङ मेसिन, कफी लहर मेसिन, कफी ड्रयार, रोस्टर मेसिन र कफी स्प्रे सो मेसिन समेत उपलब्ध छ ।

    कफी बगैँचा स्थापना गर्नका लागि केन्द्रले आँप चौरमा अहिले १८४ रोपनी जग्गा खरिद गरेको छ । उक्त बगैँचामा यति बेला १२ हजार कफीका बिरुवा लगाई सकिएको कार्यालय प्रमुख आचार्यले बताए । कफीको जननी जिल्ला गुल्मीको आँप चौरमा कफी बगैँचा विस्तार गर्ने उद्देश्यले अहिले छ वटा नर्सरीमा ६० हजार कफीका बिरुवा रोपण गरिएको छ ।

    पछिल्लो समयमा किसानलाई कफीमा लाग्ने सेतो गबारो मुख्य समस्या बन्दै गइरहेको छ । सेतो गबारोका कारण जिल्लामा १५ प्रतिशत कफीका बोट नष्ट हुने अवस्थामा रहेका छन् । जिल्लामा कफी खेतीमा कृषकको आकर्षण बढे पनि समय समयमा कफीमा देखिने सेतो गबारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटहरूमा क्षति पुग्ने गरेको किसानहरूको गुनासो । गुल्मीमा अहिले करिब ३०० हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएको छ ।

    गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँप चौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीय तहले कफीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation