
बुटवल,२८ जेठ । संघले सरकारले आव २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि खारेजीको मागसहित बुटवल सुनचाँदी व्यवसायी संघले आन्दोलनमा गरेको छ । कर र भ्याट ले उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धारासायी बनाउने भन्दै आव्हान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि त्यसको खारेजीको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।संयुक्त रूपमा गरिएको चरणबद्ध आन्दोलनको कार्यक्रमका बारेमा छलफल गर्न बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको बुधवार बसेको आकस्मिक बैठकले आफ्ना सबै व्यवसायीहरूलाई घोषित कार्यक्रमलाई सफल बनाउन आव्हान गर्दै एकजुट हुन अनुरोध गरेको छ ।
बैठकपछि संघका अध्यक्ष गोकुल विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै घोषित कार्यक्रम अन्तरगत जेठ २९ र ३० गतेको दुई दिन व्यवसाय ९पसल० बन्द गर्न सबैलाई अनुरोध गरेका छन् ।
विज्ञप्तिमा सुनचाँदी व्यवसाय आर्थिक मन्दिका कारण दिन प्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनी सुनका गरगहनामा विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लगाई व्यवसायीहरूलाई व्यवसायबाट विस्थापित गर्ने स्थिति सिर्जना गरिएको जनाइएको छ ।
अहिले पनि छिमेकी भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दरमा एकरूपमा नहुँदा नेपाली उपभोक्ताहरू सिमानाका बजारहरूमा सुनका गरगहना किन्न जाने अवस्था रहेको उल्लेख गर्दै बजेट वक्तव्यमार्फत लिएको नीति कार्यान्वयन भएमा व्यवसायमा नकारात्मक असर पर्ने जनाइएको छ ।