नेपालमा पहिलो पटक Malabar Whistling Thrush (Myophonus horsfieldii) को अभिलेख

  • बुटवल,२० जेठ । रुपन्देही जिल्ला, लुम्बिनी प्रदेशको गोलपार्कस्थित लुम्बिनी केबलकार स्टेशन नजिकै, ३० मे २०२५ को साँझ ५ बजे, चरासम्बन्धी सर्वेक्षणका क्रममा नेपालमा अहिलेसम्म अभिलेख नभएको चरा देखिएको छ। यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाइने Malabar Whistling Thrush (Myophonus horsfieldii) भएको, Birdlife International र Bombay Natural History Society (BNHS) का चरा विज्ञहरूको पुष्टि अनुसार, नेपालमा पहिलो पटक Malabar Whistling Thrush (Myophonus horsfieldii) को अभिलेख भएको छ।
    चरा सर्वेक्षणका क्रममा, पंन्छि संरक्षण संघ नेपालका परियोजना अधिकृत देउ बहादुर राना र अमृत नेपालिले चराहरूको अवलोकन गरिरहेका थिए। यसै क्रममा, एक अनौठो निलो रंगको चरा देखियो। सुरुमा यो चरा नेपालमा सामान्य पाइने Blue Whistling Thrush (Myophonus caeruleus) हो भन्ने अनुमान गरियो। तर, फोटो हेर्दा र क्षेत्रीय विवरण तुलना गर्दा फरक विशेषताहरू जस्तै निधारमा स्पष्ट V आकारको चम्किलो निलो थोप्लो, काँधमा उज्यालो निलो भाग र कालो चुच्चो देखियो। यी विशेषताहरू Malabar Whistling Thrush मा पाइन्छन् भने Blue Whistling Thrush मा प्रजनन समयमा पहेंलो चोच र फरक रंग देखिन्छ। साथै, अवलोकन गरिएको चरा शान्त, लुकेर बस्ने र घना झाडीभित्र मात्र चल्ने स्वभावको थियो, जुन Blue Whistling Thrush को खुला स्थानमा देखिने र आवाज गर्ने बानीभन्दा फरक थियो।
    अवलोकनपछि, फोटो र भिडियो प्रमाण पंन्छि संरक्षण संघ, Birdlife International र Bombay Natural History Society (BNHS) भारतका चरा विज्ञहरूलाई पठाइयो। विस्तृत अध्ययन र तुलना पछि, चराको पहिचान Malabar Whistling Thrush नै भएको पुष्टि भयो। यसले नेपालमा यस प्रजातिको पहिलो आधिकारिक अभिलेख भएको छ।
    Malabar Whistling Thrush भारतको पश्चिमी घाट, सतपुडा र मध्य भारतमा मात्र पाइन्छ। नेपालमा यसको उपस्थिति या त दुर्लभ भ्रमण (vagrancy) हो वा यस क्षेत्रको पहिले नपत्ता परेको विस्तार हो भन्ने विषयमा थप अनुसन्धान आवश्यक छ। यस अभिलेखसँगै नेपालमा चरा प्रजातिको संख्या ९०१ पुगेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation