
‘
भैरहवा,१२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताएका छन्।
तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरेका हुन्।
नेपाल पर्यटन व्यवसायी संघ ९नाट्टा० को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष लगायतका निकायहरूको सहकार्यमा यात्राको आयोजना गरिएको थियो।
प्रदेश सरकारले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि ‘लुम्बिनी पर्यटन सर्किट’ को अवधारणा अघि बढाएको र यसले लुम्बिनीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको उनले बताए।
लुम्बिनीलाई केन्द्रमा राखी देवदह, रामग्राम, तिलौराकोटलगायत सम्पदालाई जोड्दै बौद्ध सर्किटको विकासलाई उच्च प्राथमिकतामा राखिएको छ। लुम्बिनी विकास गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा लुम्बिनी विकास प्राधिकरण गठनको तयारी भइरहेको जानकारी पनि उनले दिए।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्राचीन स्मारक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय सूचना प्रवाहका लागि डिजिटल प्लेटफर्मको विकास, उत्तरगण्डकी महास्नान मेला, रुरु क्षेत्रको गुरुयोजना कार्यान्वयन, विभिन्न मेला(महोत्सवको आयोजना, होमस्टे प्रवर्द्धनलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए।