
सुर्खेत,८ जेठ। स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले कर्णाली प्रदेशका सबै स्थानीय तहमा आज (जेठ ८ गते) देखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कर्णाली प्रदेश समितिले प्रदेश सरकारको विभेदकारी नीति र स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा संशोधन नगरेको विरोधमा आन्दोलन घोषणा गरी सेवाहरू रोकेको हो।यदि माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर चल्ने स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश संयोजक विक्रम शाहीले जानकारी दिए । साथै सञ्जालले स्थानीय तहका प्रमुख, उपप्रमुखदेखि कर्मचारी प्रशासनलाई समेत सहयोग गरिदिन पत्राचार गरेको छ ।आन्दोलनको कार्यतालिका अनुसार बिहीबार बिहान १० बजे वीरेन्द्रनगरस्थित कालिन्चोकमा भेला हुने र ११ बजेदेखि तीन बजेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने छन् ।
उक्त संशोधित विधेयकमा पनि तृतीय तह (मुखिया), चौथो तह, पाँचौ तह, छैठौँ तह लगायत कुनै पनि कर्मचारकिा माग सम्बोधन नभएको संयोजक शाही बताउँछन् ।यो आन्दोलनका कारण कर्णाली प्रदेशका ७८ वटै स्थानीय तहमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा ठप्प हुने भएकाले सर्वसाधारणको दैनिक कामकाजमा असर पर्ने देखिन्छ। कर्मचारीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।