
काठमाडौं,२ जेठ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने कार्यक्रम जेठ ४ गतेसम्म चल्नेछ । परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाका अनुसार, सो सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने छन् । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ । यो सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सङ्गठनको प्रस्तुति रहने छ ।
यस्तै, छुट्टा–छुट्टै विषयका समानान्तर सत्रको सुरुआत पनि शुक्रबारै हुने छ । सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने बताइएको छ ।
सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाले भाग लिने छन् ।
संवाद आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक ‘प्लेनरी सेसन’, समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा। महेश्वर ढकालले जानकारी दिए । तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ भने संवादको काठमाडौँ घोषणा जारी गरिने छ ।