नक्कली सरकारी कागजपत्र बनाउने कारखानमा प्रहरीको छापा, ३ जना पक्राउ

  • काठमाडौँ,१ जेठ। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर–७ स्थित फुटुङमा प्रहरीले नक्कली कागजात बनाउने कारखानामा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार छापा मारेर ३ सय ५५ थान स्ट्याम्प बरामद गरेको बिहीबार जानकारी दिएको छ ।
    स्मार्ट लाइसेन्स, विवाह दर्ता र अधिकांश सरकारी कार्यालयका कागजात त्यहाँ छापिने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले खबर खातालाई बताए। फर्जी कागजात बनाउने धन्दाको मुख्य योजनाकार ४६ वर्षीय अन्जनी बयलकोटी हुन् । गोरखाको भिमसेनथापा गाउँपालिका–१ घर भएर तारकेश्वरमा बस्ने बयलकोटीसँगै मकवानपुर घर भएकी २३ वर्षीया अन्जु खत्री र ओखलढुंगाका २८ वर्षीय निर्मल खड्का पनि पक्राउ परेका छन् । बयलकोटीले सञ्चालन गरेको कारखानामा खड्काले डिजाइन र खत्रीले कागजात सम्पादनको काम गर्दै आएका थिए । उनीहरूलाई बयलकोटीले १५/२० हजार तलबमा काम लगाएका हुन् । उनीहरूले ठाउँ परिवर्तन गरेर कारखाना सारिरहन्थे । फुटुङमा भर्खर कार्यालय सारेको अवस्थामा प्रहरीले त्यसबारे सुराक पाएको थियो । १० दिनको अनुसन्धानपछि प्रहरी कारखानासम्म पुग्न सफल भएको हो ।
    सम्पर्क भएका मानिसहरूमार्फत कागजात अर्डर लिने र पठाओमार्फत उनले डेलिभरी पठाउने गरेका थिए । एउटा कागजात बराबर २५ सय सम्म लिएर उनले बिक्री गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
    विदेश जाने र त्यहाँ बसिरहेकाहरूलाई उनीहरूले सवारी चालक अनुमति पत्र पनि बनाएर डेलिभरी दिने गरेका थिए । डिपेन्डेन्ट भिसा प्रयोजनको लागी उनीहरूले म्यारिज सर्टिफिकेट पनि बनाइदिने गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले भने, ‘आरोपीहरूले विवाह दर्ता र लालपुर्जा समेत बनाउने गरेको भेटिएको छ ।’ उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation