पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने :अध्यक्ष ढकाल

  • नवलपुर,३० बैशाख ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा निजी क्षेत्रले चमत्कार गर्नसक्ने दाबी गरेका छन् । नवलपुरको गैँडाकोट नगरपालिकास्थित मौलाकालीमा निर्माण गरिएको इला होटल तथा रिसोर्ट, आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
    उनले नेपालको निजी क्षेत्र पर्यटनमा चमत्कारिक रूपमा विकास गर्न सक्षम भएको जिकिर गरे । उनले नेपालमा भएका प्राकृतिक सम्पदामा इच्छाशक्ति र प्रविधि जोडेर पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।उनले नेपालमा पर्यटकीय पूर्वाधारको कमीका कारण विदेशी पर्यटकको खर्च तथा बसाइ अवधि छोटिएको बताए । विदेशी पर्यटक नेपालमा औसत १२ दिन बस्ने र दैनिक ५० डलरभन्दा कम खर्च गर्ने गरेको उनको भनाइ छ । उनले नेपाल सरकारले निजी क्षेत्रसँग सहजीकरण र साझेदारीको नीति लिन सके पर्यटकीय क्षेत्रबाट छिट्टै आर्थिक विकास गर्न सक्ने बताए । अध्यक्ष ढकालले पर्यटकीय पूर्वाधारमा सरकारले उचित नीतिको वातावरण बनाए निजी क्षेत्रले पर्यटन क्षेत्रमा ठुलो लगानी गरी आर्थिक वृद्धिमा सरकारलाई सहयोग गर्ने बताए ।
    सरकारले लगानी गर्न लगानीकर्तालाई आह्वान गर्ने गरेको तर उपयुक्त वातावरण निर्माण गर्न नसकेको उनको भनाइ छ । उनले सरकारले निजी क्षेत्रलाई साझेदारीको रूपमा स्वीकार गरेर व्यावहारिक नीतिमार्फत सहजीकरण गर्नुपर्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation