मुख्यमन्त्री आचार्य र स्विस राजदूत बीच शिष्टाचार भेटवार्ता

  • दाङ,२४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा.ड्यानिएल मेउलीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न उक्त भेटवार्तामा मुख्यमन्त्री आचार्यले संघीयताको सुदृढीकरण र विकासका लागि स्विस सरकार तथा साझेदार संघसंस्थाबीच अझ सघन सहकार्य आवश्यक रहेको बताए ।
    प्रदेश सरकार आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा अझै साझेदारीको खाँचो रहेको धारणा व्यक्त गरे । यहाँहरूको तर्फबाट अहिलेसम्म स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा गरिएको योगदानको सरकारले उच्च मूल्यांकन गर्छ। आगामी दिनमा पनि यी क्षेत्रले प्राथमिकता पाउनेछन् भन्नेमा हामी विश्वस्त छौं,।
    मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आत्मनिर्भरतातर्फ अघि बढिरहेको सन्दर्भमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकहरूको व्यवस्था र निरन्तरताका लागि सहयोगको प्रस्ताव पनि गरे ।
    स्विस राजदूत डा. मेउलीले स्विस सरकारले नेपालमा संघीय शासन व्यवस्थाको संस्थागत विकासका लागि प्रदेशको क्षमताविकासमा साझेदारी गर्दै आएको बताइन्।
    सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा प्राथमिकताका साथ साझेदारी जारी रहेको जानकारी दिँदै उनले आगामी दिनमा प्राविधिक शिक्षामा पहुँच बढाउँदै थप सहकार्य गर्न सकिने उल्लेख गरिन ।
    प्राविधिक शिक्षा र बजारको तालमेल मिलाउन जरुरी छ। प्रदेश तहमा प्राविधिक शिक्षा ऐनको आवश्यकता महसुस गरिएको छ, राजदूत मेउलीले भनिन साना तथा मझौला व्यवसाय विकासका लागि पनि प्रदेश तहमा काम हुँदै आएको छ ।
    राजदूतसँगको उक्त भेटमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव ईश्वरराज पौडेल लगायत सहभागी थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation