
पोखरा १५ बैशाख। पोखरा–मुग्लिन यात्रा अब चार लेनको सडकमा गर्न पाउने भएका छन्। निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ। ५० वर्षअघि निर्माण भएको पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो ।गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२।९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने)मा ५०।३४ प्रतिशत पुगेको छ। पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार कूल ४१ दशमवल ४५ किमी दूरीको उक्त खण्डमा तीन किमि मात्र कालोपत्र हुन बाँकी छ। ‘कालोपत्र अन्तिम चरणमा पुगेको छ, दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेनको बनेको छ, अन्यत्र चार लेनको छ, पाण्डेले भने, ‘आगामी असारभित्रमा पूर्वी खण्डको काम सक्ने लक्ष्य छ।’ पूर्वी खण्डमा पर्ने १७ साना–ठूला पक्की पुल गत वर्ष नै निर्माण भएको इञ्जिनियर पाण्डेले बताए।
तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको उनको भनाइ छ। कोभिड महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय तीव्र गतिमा सडक निर्माणको काम भएको इञ्जिनियर पाण्डेले बताए।