
भैरहवा, १४ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सर्वसाधारण जनतालाई बैंक तथा बित्तीय पहुँचमा पुर्याउनेतर्फ नेपाल राष्ट्र बैंकको ध्यान जान जरुरी भएको बताएका छन । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहको आज रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन जोड दिए । ‘सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढंगले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ’मुख्यमन्त्री आचार्यले भने–‘आवश्यकताको आधारमा रकम खर्च भएको छ कि, त्यसै खर्च भएको छ भन्ने विषयमा राष्ट्र बैंकले समीक्षा गर्न जरुरी छ ।’
बैंक तथा वित्तीय संस्थाले गुनासो नआउने गरी सेवा प्रवाह गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए । ‘बैंक तथा वित्तीय संस्थाले लगानी गर्दा एक प्रकारको ब्याजदर निर्धारण गर्ने र पछि ब्याजदरमा वृद्धि गर्ने गरेको गुनासो व्यवसायीहरूको छ । गुनासो नआउने गरी काम गर्न जरुरी छ’उनले भने–‘यस्ता गतिविधिले व्यवसायीहरूमा पीडा पर्ने गरेको छ ।’ प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ ।लुम्बिनी प्रदेशका बैंकहरूको अभिभावकका रूपमा राष्ट्र बैंकको कार्यालय रहेको उल्लेख गर्दै सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी रहेको उनले बताए । राष्ट्र बैंक बैंकहरूको बैंक भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीहरूको समाधानका लागि राष्ट्र बैंक चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएको बताए । राष्ट्र बैंकको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि उनले बताए । प्रदेश स्तरमा केन्द्रीय बैंकको रूपमा संस्थाको आवश्यकता महसुस गरिएको उनको भनाइ छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले बैंक तथा बित्तीय संस्थासँग थुप्रिएको पैसालाई सरल र सहज ढंगबाट निजी व्यवसायी समक्ष परिचालन गर्न सकिने योजना र नीति ल्याउन आवश्यक भएको बताए ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि तयार गर्ने नीति तथा कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकले मार्गदर्शन गर्न उनले आग्रह गरे । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बित्तीय क्षेत्रको नियमनकारी निकाय राष्ट्र बैंक भए पनि कतिपय गलत आर्थिक नीतिको सिकार निजी क्षेत्र हुने गरेको दावी गरे
राष्ट्र बैंकको गभर्नर जस्तो जिम्मेवार पदका लागि राजनीतिक भागबण्डामा हुने परिपाटी र सरकार नै ढल्ने अवस्थासम्म आउनु दुर्भाग्यपूर्ण भएको बताए । ‘गभर्नर जस्तो पदमा स्वच्छ प्रतिष्पर्धाबाट आउनु पर्छ’, आचार्यले भने, ‘तर यसका लागि राजनीतिक दलका नेताले आफ्नालाई काखी च्यापेर नियुक्ति गर्ने परिपाटीले बैंकिङ तथा बित्तीय समस्या निम्त्याउने गरेको छ ।’
राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेले राष्ट्र बैंकको वार्षिकोत्सका अवसरमा भैरहवा र सिमावर्ती क्षेत्रमा पर्यटक आवागमन कार्यमा सहजता हुने खालका सूचनामूलक सन्देश प्रवाह गरिएको, बित्तीय सचेतना फैलाउने कार्यक्रमको आयोजना गरिएको र बित्तीय साक्षरताका कक्षा संचालन गरिएको बताए ।