
लुम्बिनी, १३ बैशाख । लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको जानकारी दिए । उनले विश्वमा जल, थल र आकाशबाट समेत आक्रमण गर्न सक्ने खतरानाक हतियारहरु निर्माण भइरहेको बताउँदै त्यसलाई रोक्नका लागि बुद्धको शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने बताए । प्रधानमन्त्री ओलीले विश्वभर शान्तिका आकांक्षाहरु पूरा गर्नका लागि बुद्धको शिक्षाहरु सबैभन्दा बढी आवश्यक बनेको बताए । उनले विश्वभर नै बुद्वका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै बुद्वको शिक्षालाई आत्मसाथ गर्ने बेला आएको बताए ।
बुद्वले आफ्नो निजी सुखसयलबाट मानव कल्याणका लागि दरबार छाडेको बताउँदै बुद्वको जीवनबाट मानवजातीले धेरै कुरा सिक्नुपर्ने बताए । बुद्वका शान्तिप्रिय विचार, शान्ति करूणा र मैत्रसय विचारहरूलाई जिवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धका विचारअनुसार विश्व शान्ति कायम गर्न सकिने बताए ।
‘विगतमा बुद्वका विचार, सिद्वान्तहरू सिध्याउन खोजिएका थिए, बुद्वका शालिक तोडिएको पनि थियो’, प्रधानमन्त्री ओलीले भने, ‘जति गरे पनि बुद्धका विचार तिनीहरुले मार्न सकेनन् ।’ प्रधानमन्त्री ओलीले चौथौ एशियाली बौद्ध साँस्कृतिक महोत्सवमा अफ्रिका, यूरोप, पूर्व एशिया, अमेरिकासहित विभिन्न देशबाट आएका पाहुनाहरुलाई बुद्व जन्मस्थलमा स्वागत गरे ।
उनले शान्ति, मानवता, करूणा र मित्रता विश्वमा बढ्दै गएको बताए । प्रधानमन्त्री ओलीले लुम्बिनीमा आवश्यकताले अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र बनेको बताउँदै उनले यसलाई व्यस्थित बनाउन आफू सहयोग गर्न तयार रहेको जनाए । उनले लुम्बिनी पवित्र भूमिमात्रै नभई बुद्ध दर्शनको उत्पतिको थलो भएको बताए । अग्रजहरूले बुद्वका शान्तिप्रिय विचार, शान्ति करूणा र मैत्रीय विचारहरूलाई जिवित राख्न ठूलो संघर्ष गरेको उनको भनाई छ ।
महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबद्रीप्रसाद पाण्डेय, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, विकास कोषका उपाध्यक्ष डा।ल्हारक्याल लामा लगायतको उपस्थिती रहेको थियो । महोत्सवमा भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिका एवं बौद्धमार्गीहरुको सहभागिता छ ।
उद्घाटन सत्रसँगै लुम्बिनी रामग्राम, तिलौराकोटमा दीप प्रज्वलन लगायतका कार्यक्रमहरु रहेको सारिपुत्त फाउन्डेसनका भन्ते सुमंङ्लोले बताए । उनले नेपालमा पहिलोपटक लुम्बिनीमा बौद्व साँस्कृतिक महोत्सव गरिएको बताउँदै यसले बौद्व संस्कृतिको विकासमा टेवा पुर्याउने जनाए । उद्घाटन समारोहका अवसरमा हिमाली क्षेत्रमा प्रख्यात स्याब्रु, योल्मो नृत्यसहित विभिन्न साँस्कृतिक कार्यक्रमको समेत प्रस्तुती गरिएको थियो ।