
बुटवल १२ बैशाख । नेकपा (एकीकृत समाजवादी) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष चिनबहादुर गुरूङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मुलुकमा देखा परेको राजनीतिक संकटबाट अगाडि बढ्नका लागि अब सुशासन र रोजगारी नै प्रमुख ऐजेन्डा हुनुपर्ने बताए । उनले नेकपा एकिकृत समाजवादीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुद्धालाई स्थापित गर्ने गरी आन्दोलनको तयारीमा रहेको समेत बताए । उनले सुशासन र रोजगारीका लागि सम्पूर्ण शक्तिहरुलाई एकिकृत गरी राष्ट्रिय सम्मेलन मार्फत आफूहरुले आन्दोलनको नेतृत्व गर्ने बताए । ‘हामी आन्दोलनको चरणमा छौं, हामी सबै क्षेत्रबाट सुझाव लिएर सुशासन र रोजगारीका बिषयमा सबैलाई एकजुट बनाएर जाने तयारीमा छौं।
बुटवल उपमहानगरपालिकाका १९ वटा वडाबाट ६५४ प्रतिनिधिहरुले पार्टीको नेतृत्व चयन गर्ने जानकारी दिइएको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ जना गरी ६३ सदस्यीय उपमहानगर कमिटि चयन गरिने सचिव लोकराज शर्माले बताए । पत्रकार सम्मेलनमा स्वागत गर्दै पार्टीका नगरउपाध्यक्ष रुक्माङगत घिमिरेले उपमहानगर कमिटिको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटि सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिती रहेको थियो ।