विश्व पृथ्वी दिवसमा बुटवलमा वृत्तचित्र प्रस्तुतीकरण तथा अन्तरक्रिया

  • बुटवल वैशाख  “हाम्रो शक्ति, हाम्रो पृथ्वी” भन्ने नाराका साथ बुटवलमा विश्व पृथ्वी दिवसको अवसरमा वृत्तचित्र प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ । अक्सफोर्ड माध्यमिक विद्यालय, बुटवलमा सम्पन्न सो कार्यक्रम पर्यावरण संरक्षण समाज नेपाल, बुटवल रूपन्देही र बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।
    कार्यक्रममा वक्ता तथा सहजकर्ताहरूले वातावरणीय संरक्षणका विविध पक्षमा आफ्ना विचारहरू प्रस्तुत गर्दै पृथ्वीको रक्षा सबैको साझा दायित्व भएकोमा जोड दिएका थिए । वक्ताहरूले वातावरण संरक्षणसम्बन्धी महत्वपूर्ण विषयवस्तुहरूलाई आ–आफ्नो प्रस्तुतिमा समेट्दै आजको पुस्तालाई व्यवहारिक अभ्यासतर्फ उन्मुख गराए ।


    कार्यक्रममा अक्सफोर्ड माध्यमिक विद्यालयका प्राचार्य दिनेश भुसालले “एक विद्यार्थी, एक बिरुवा” जस्ता अभियानमार्फत विद्यालयस्तरमै हरियाली विस्तारको आवश्यकता औंल्लाए । भुसालले अक्सफोर्डका विद्यार्थीहरूको आन्तरिक मुल्याङ्कन विद्यार्थीको पर्या चेतनामा आधारित रहेर गरिने बताए ।
    पर्यावरण संरक्षण समाजका अध्यक्ष गंगा पोखरेलले प्लास्टिक नियन्त्रणका लागि सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्दै आफ्नो प्रस्तुति दिएकी थिईन् । प्लास्टिक प्रदूषणले वातावरण, जैविक विविधता र मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे प्रकाश पारिन् । साथै, कानुनी व्यवस्था, जनचेतना अभिवृद्धि, पुनःप्रयोगयोग्य सामग्रीको प्रवद्र्धन र स्थानीय तहको सक्रियता आवश्यक रहेकोमा जोड दिईन् । पोखरेलले प्लास्टिक नियन्त्रणलाई साझा दायित्वका रूपमा बुझ्न र सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याईन् ।
    बुटवल उपमहानगरपालिकाका सरसफाइ तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बुटवल उपमहानगरपालिकाले गरेका प्रयास बारे आफ्नो धारणा राख्दै जल स्रोतको संरक्षण, पानीको सदुपयोग र वर्षा पानी संकलनजस्ता व्यवहारिक अभ्यासको महत्त्वमाथि जोड दिएका थिए । पर्यावरण संरक्षण सममज नेपालका उपाध्यक्ष अर्जुन ज्ञवालीले हरित जीवनशैली अपनाउँदै स्थानीय उत्पादन प्रयोग, साइकल चलाउनेजस्ता उपायमार्फत दिगो वातावरणीय सन्तुलन सम्भव हुने बताए ।

    कार्यक्रम सञ्चालक तथा पर्यावरण संरक्षण समाजका सचिव कृष्ण गाउँलेले वातावरणीय शिक्षा, सचेतनामूलक कला तथा संवादात्मक माध्यमहरूको प्रयोगबाट जनचेतना विस्तार गर्न सकिने धारणा राखे । त्यस्तै अशेष भण्डारीले डिजिटल मिडियाको सकारात्मक प्रयोग गर्दै वातावरणीय सन्देश फैलाउने सशक्त माध्यम बन्ने कुरा उठाए । वक्ताहरूको साझा धारणा थियो कि फोहोरको व्यवस्थापन, पुनःप्रयोग, जैविक विविधताको संरक्षण, नवीकरणीय ऊर्जा प्रयोग र जलवायु परिवर्तनबारे चेतना आजको आवश्यकता हो र यसका लागि विद्यालय, समुदाय र नीति निर्माण तहबीच समन्वय आवश्यक रहेको बताए ।

    दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा कक्षा ६, ७ र ८ का तथा दोस्रो चरणमा कक्षा ९ र १० का एक हजार विद्यार्थीको सहभागिता थियो। वृत्तचित्र प्रस्तुतीकरणपछि अन्तरक्रियात्मक सत्रमा विद्यार्थीहरूले वातावरण संरक्षणको सुरुवात घरपरिवारबाटै गर्नुपर्नेमा जोड दिँदै जिम्मेवार नागरिक बन्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रमलाई पर्यावरण संरक्षण समाजका पदाधिकारीहरू बनिका भट्टराई, विनिता भट्टराई र रामप्रसाद शर्मा भट्टराईले सहजीकरण गरेका थिए । विद्यालयका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो । कार्यक्रमको अन्त्यमा सहभागी सबै विद्यार्थीहरूलाई वातावरणमैत्री झोला वितरण गरिएको थियो । आयोजकहरूको विश्वासमा, यस कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारी र सचेतनालाई व्यवहारमै उतार्ने प्रेरणा प्रदान गरेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation