पत्रकार विश्वकर्मालाई आक्रमण प्रयास गर्नेमाथि कारबाही गर्न माग

  • बुटवल,८ बैशाख । नेपाल पत्रकार महासंघ,रुपन्देही शाखा ,मधेशी पत्रकार समाज नेपाल रुपन्देही, लुम्बिनी प्रेस क्लब, प्रेस चौतारी नेपाल रुपन्देही ले पत्रकार राधेश्याम विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने तस्करहरुको समूहलाई कारबाहीको माग गरेको छ।
    अन्नपूर्ण मिडिया नेटवर्क (एपीवान टिभी) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रिपोर्टिङका लागि मर्चवार जाने क्रममा मायादेवी गाउँपालिका ६, मकरीमा तस्करी गरेर सामान ल्याउँदै गरेको समूहको तस्वीर र भिडियो खिच्ने क्रममा दुव्र्यवहार र आक्रमण प्रयास भएको थियो।
    महासंघका सचिव सीपी खनाल, प्रेस चौतारी नेपाल नेपाल रुपन्देही अध्यक्ष भगवति पाण्डे, मधेशी पत्रकार समाज सचिव हृदयराम गुप्ता, प्रेस क्लब महासचिव प्रकास न्यौपाने सोमबार विज्ञप्ती जारी गर्दै पत्रकार विश्वकर्मामाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। ‘मिति २०८२ वैशाख ८ गते संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको रिपोर्टिङ गर्न जाने क्रममा विश्वकर्मामाथि आफूलाई दीपेश यादव बताउने तस्करहरुको समूहले घेरा हाली सांघातिक आक्रमण गर्ने प्रयासले रुपन्देहीको सुरक्षामाथि नै प्रश्न उठाएको छ’, सबै सस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सो समूहले भैरहवा–मर्चवार सडकमा भिडियो खिचिरहेका विश्वकर्माको क्यामेरा खोसेर तोडफोड गर्ने र फाइल डिलिट गर्न लगाउने कार्य प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लंघन हो भन्ने हाम्रो ठम्याइ छ । सो समूहले घेरा हालिरहेको अवस्थामा आइपुगेका प्रहरी अधिकारीले पत्रकारको जिउज्यानको रक्षा गर्नुको साटो मुकदर्शक बन्नुले पनि सुरक्षा संयन्त्रको भूमिकाप्रतिसमेत शंका उत्पन्न गराएको छ।’
    महासंघले यस घटनामा संलग्न यादवसहितको समूहलाई कानुनी कारबाही गर्न, सञ्चारकर्मीले निर्बाध रुपमा समाचार संकलन गर्ने वातावरण तयार गर्न र क्षतिग्रस्त सञ्चारसामग्रीको क्षतिपूर्तिका लागि माग समेत गरेको छ। स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदासमेत मुकदर्शक बन्ने सुरक्षा संयन्त्रका अधिकारीहरुमाथि समेत अनुसन्धान गरी कानुनी कारबाही गर्न समेत नेपाल पत्रकार महासंघले माग गरेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation