
काठमाडौं, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताए । उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए ।
लिङदेनका अनुसार बैठकले पार्टी संगठन बिस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ । उहाँले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । उपत्यकाका प्रत्येक वडामा संगठन मजबुत बनाउँदै आन्दोलन केन्द्रित गर्ने पनि निर्णय भएको उनले जानकारी दिए । उनले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरुको रिहाईको लागि राजनीतिक एवं कानूनी लडाईं सशक्त रुपमा अगाडी लैजाने निर्णय भएको बताए । आज बसेको हाम्रो पार्टी कार्य सम्पादन समितिको बैठकले पार्टी संगठन र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । त्यसक्रममा यही वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय पनि गरेका छौं ।’ उनले भने, ‘पक्राउ परेका हाम्रा पार्टीका नेताहरुलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाईको लागि कानूनी र राजनीतिक लडाईंलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय भएको छ ।’उनले पार्टीका आन्दोलनसम्बन्धी कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी गठन गरिएको बताउँदै आन्दोलनका थप कार्यक्रम पछि तय गरिने जानकारी दिए ।