नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रा.डा विजयप्रसाद मिश्र निर्वाचित

  • बुटवल २८ चैत । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । झण्डै एक सातापछि बिहीबार मात्र अन्तिम मतपरिणाममा एमाले र काँग्रेसको गठबन्धनबाट मिश्रको प्यानल नै निर्वाचित भएको हो ।
    बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट श्रेष्ठले प्रतिस्पर्धामा गरेका थिए । मिश्रले आफ्ना निकटतम् प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई फराकिलो २ हजार ४ सय ३१ मतान्तरले पराजित गरे ।
    मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दा श्रेष्ठले २ हजार ६ सय २१ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
    बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भए ।
    गण्डकी प्रदेशबाट उपाध्यक्ष निर्वाचित भूपेन्द्र नवलपुर निवासी हुन् । उनी एमालेनिकट मानिन्छन् । उनले पोखराका सुकदेव गौतमलाई पराजित गरेका हुन् । महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी भइन् । महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भए ।

    बार सदस्यमा मिश्र प्यानलका उम्मेदवार नै विजयी भए । दलित सदस्य चिरञ्जीवी तिल्क्यानी, मधेशी- मुस्लिम सदस्यमा अधिवक्ता सूर्यकुमार यादव, मधेशी मुस्लिम खुला सदस्यमा रिंकुकुमारी यादव, आदिवासी जनजाति (उपत्यका बाहिर) सदस्य वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, आदिवासी जनजाति (खुला) सदस्यमा अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला सदस्य (उपत्यका बाहिर) मा अधिवक्ता इन्दिरा आचार्य, महिला सदस्य (खुला) तर्फ रञ्जिता कार्की, खुला सदस्य (उपत्यका बाहिर) मा किरण पौडेल, खुला सदस्यमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा. मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका छन् ।
    शनिबारको मतदान प्रक्रियामा देशभर गरी कुल ९ हजार ९९७ मतदाता रहेकोमा ७ हजार ९९५ जनाले मतदान गरेका थिए
    नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए । स्वतन्त्र न्यायपालिकाको वास्तविकरुपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने उनले बताए । उनले लयर्स एकेडेमीको स्थापनामार्फत कानून व्यवसायीहरुको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था गरिने उल्लेख गरे । उनले संविधान संशोधनमा समेत बारले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation