वनमा डढेलो लगाउनेलाई हदैसम्म कारवाही गर्न सिडीयोलाई आग्रह

  • बुटवल, २६ चैत । लुम्बिनी प्रदेश सरकारले बढ्दै गएका वन डढेलोका घटनालाई गम्भीर रूपमा लिँदै डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले डढेलो लगाउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
    १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाइ आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत परिपत्र गर्दै डढेलोको घटना बढ्दै जाँदा मानव बस्तिमा आगलागीको जोखिम बढेकाले डढेलो लगाउने व्यक्तिहरुलाइ कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन् । विभिन्न जिल्लाहरूमा लगातार डढेलो तथा गहुँबालिमा आगलागीका घटना बढिरहेका छन् । डढेलो तथा आगलागी हुँदा जनधन, वनस्पती, वन्यजन्तु र वातावरणमा ठूलो असर परेको छ ।आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव लोक बहादुर सुनारले जानीजानी आगलागीको घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरेर कानूनी दायरामा ल्याउन निर्देशन दिइएको जानकारी दिए ।
    यस वर्ष चैत १ गतेदेखि २५ गते सम्मको अवधिमा १२ वटा जिल्लामा आगलागीका १२९ वटा घटना घटेका छन् । यो अवधिमा आगलागीमा परेर १ जनाको मृत्यु भएको र १३ जना घाइते भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
    डढेलो नियन्त्रणका लागि निगरानी, जनचेतना र तत्काल प्रतिकार्य योजना प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो । प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रलाई अझ सशक्त बनाउँदै समन्वय, सूचना व्यवस्थापन र प्रतिकार्यमा जोड दिइएको छ । वन डढेलो तथा आगलागीको घटना नियन्त्रण र सम्भावित क्षती न्यूनिकरणका लागि भरपर्दो पूर्व तयारी गर्न अनुरोध गरिएको हो । वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा आगजनी गरेमा त्यसबाट भएको सम्पूर्ण क्षतिको विगो असुल गर्नुका साथै ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation