
काठमाडौं ,१८ चैत । सोमबार संघीय संसद्ले एकै दिनमा विभिन्न ५ वटा ऐन बनाएको छ ।
राष्ट्रिय सभामा एकैसदन पाँच वटै विधेयक क्रमश पारित भए । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।
बाँकी तीन वटा विधेयक अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको हो ।
सभामुखले पनि सोमबार नै राष्ट्रपतिकहाँ पठाएका छन् । राष्ट्रपतिले पनि सोमबार नै ती विधेयकहरू प्रमाणीकरण गरे । यो सँगै ५ वटा विधेयक ऐनको रुपमा रुपान्तरित भएको हो ।