
बुटवल , ६ चैत्र । यही ९ गते शनिबारदेखि रुपन्देहीमा २३ औं संस्करणको तिलोत्तमा गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा सहभागी हुने ८ टिमको टुंगो लगाएर टाइसिट तयार भैसकेको छ । प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च व्याइज युनाइटेड,एपीएफ, संकटा एफसी, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफसी, भारत र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतको सहभागिता रहने छ । सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरि खेलाइने छ ।
बुटवल उपमहानगरपालीका संरक्षक तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता सञ्चालन हुने स्थान देविनगरस्थित एन्फा एकेडेमीको फुटवल मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्याउनेका काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार र रंगरोगन तथा मैदान क्षेत्रलाई आर्कषक बनाउने काम भैरहेको छ ।
प्रतियोगिताको उद्घाटन खेल चैत्र ९ गते आयोजक करेन्ट रुपन्देही–११ र एपीएफकावीच हुने छ । चैत्र १० गते चर्च व्याइज युनाइटेड र नेपाल पुलिस क्लब, चैत्र ११ गते संकटा एफसी र जर्जियन एफसी, भारत, चैत्र १२ गते मच्छिन्द्र एफसी र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतकावीच खेल हुने छ । प्रतियोगिताको फाइनल चैत्र १६ गते हुने छ ।
यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डष्ट्रिज प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने सबैले जनही ३१–३१ हजार र ट्रफी हात पाउने छ भने सर्वश्रेष्ठ खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर प्रदान गरिने छ । प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई ११ हजार १ सय ११ सहित ट्रफी प्रदान गरिने संघका अध्यक्ष लोक पुनले जानकारी दिए । प्रतियोगिताको २२ औं संस्करण मनाङ मस्र्याङ्दी क्लब, काठमाडौंले जितेको थियो ।