
काठमाडौं, ५ चैत्र । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी र मानिससहित २५ करोड बराबरको रकम बरामद गरेको स्रोतले बतायो । सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रासहित फेरि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।
ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर विदेशी मुद्रा लगिँदै गरेको विशेष सूचनाका आधारमा राजधानीको झोरबाट प्रहरीले उक्त रकमसहित उनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उक्त पैसा अवैध सुन किन्नका लागि चीनतर्फ तस्करी भइरहेको आशंकासहित प्रहरीले थप विषय अनुसन्धानपछि खुल्दै जाने बताएको छ ।