
बुटवल, ४ चैत । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा विद्यार्थीको स्वागत, विदाई तथा सम्मान कार्यक्रम भएको छ । एभरेष्ट माविको कक्षा–११ मा अध्ययनरत विद्यार्थीले १२ लाई बिदाई तथा १२ कक्षाका विद्यार्थीले ११ कक्षाको विज्ञान र ब्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको स्वागत कार्यक्रम गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका नगर उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षामा देखिने विवाद अन्त्यकालागि शैक्षिक संस्थाहरुलाई एकै खालको नीतिमा राख्नु पर्ने बताउनु भएको छ । उहाँले शिक्षाको गुणस्तर र गुणस्तरीय जनशक्ति उत्पादनमा सामुदायिक र संस्थागत दुबै शिक्षालयहरुको भुमिका एकै प्रकारको हुने भएकाले शिक्षा नीति फरक बनाउन नहुने तर्क राख्नुभयो । उहाँले बुटवल उपमहानगरले शिक्षा नीतिका सवालमा सकारात्मक भुमिका खेल्दै सबैखाले शिक्षालयहरुलाई उनीहरुकै अनुकुल संचालनको भुमिका निभाउने खालको नीति ल्याउने तयारिमा रहेको बताउनुभयो । कार्यक्रममा परीक्षा ब्यवस्थापन कार्यालय लुम्विनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षा अध्ययन गर्न तयार भएका विद्यार्थीले मेहनत, लगन र अनुसाशित हुनु आवश्यक रहने भन्दै सोही अनुसार अध्ययन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले गुणस्तरीय शिक्षासँगै बिद्यार्थीलाई भविष्यमा काम लाग्ने संस्कारयुक्त शिक्षालाई विद्यालयले जोड दिदै आएको उल्लेख गर्दै सैद्धान्तीकसँगैसँगै ब्यवहारिक र काम लाग्ने खालको सिकाईलाई विद्यालयले जोड दिदै आएको बताउनुभयो । उहाँले विद्यार्थीलाई समयानुकुल सबैखाले ज्ञान दिन जरुरी रहेको बताँउदै समयसमयमा विभिन्न खाले प्रतिस्प्रधात्मक कार्यक्रम र ज्ञानवर्धक कार्यक्रमलाई एभरेष्टले महत्वदिदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा माध्यमिक शिक्षा शाखा बुटवलका प्रमुख टिकाराम पन्थी, प्याब्सन लुम्विनी अध्यक्ष लालहरी पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, विद्यालय संचालक समिति अध्यक्ष गमप्रसाद रेश्मी, उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, विद्यार्थी डेबीड खनाल, नेहारिका ज्ञवालीलगायतले उच्च शिक्षा अध्ययनकालागि अग्रसर र माध्यमिक तहका लागि अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सफलता र उत्कृष्टताको शुभकामना दिनु भएको थियो । कक्षा ११ मा अध्ययनरत विद्यार्थी सृजल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा–११ मा अध्ययनरत विद्यार्थीले १२ लाई बिदाई तथा १२ कक्षाका विद्यार्थीले ११ कक्षाको विज्ञान र ब्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीको स्वागत गरेको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो । सोही कार्यक्रममा उत्कृष्ट क्याप्टेन, उत्कृष्ट प्राध्यापकलाई सम्मान समेत गरिएको सहप्राचार्य गौतमले जानकारी दिनुभयो । शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा विज्ञान र ब्यवस्थापन अध्ययन गर्ने झण्डै आठ सय विद्यार्थीले एकअर्कालाई स्वागत तथा विदाई गरेका थिए भने विद्यार्थीहरुले आआफ्ना साँस्कृतिक प्रंस्तुतीहरु समेत प्रदर्शन गरेका थिए ।