मगरात सभ्यता दस्तावेजीकरण ,लेखन संस्कृति सङ्ग्रहालय बनाऔं, भन्ने मुल नारासहित ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइयो

  • बुटवल,१५ फागुन । मगर जातिको अधिकारमुखी साझा संस्था नेपाल मगर सङ्घको स्थापना दिवसको अवसरमा बिहीबार ४३ औँ राष्ट्रिय मगर एकता दिवस मनाइएको हो । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आइएको छ ।
    “मगरात सभ्यता दस्तावेजीकरण गर्दै, लेखन संस्कृति सङ्ग्रहालय बनाऔं, साङ्गठनिक रुपमा ४३ औँ स्थापना दिवस सफल पारौं ।” भन्ने मुल नारासहित उल्लेखनीय मगर समुदाय रहेको पाल्पामा पालिकास्तरदेखि वडा तथा टोल टोलमा मगर दिवसको अबसरमा विशेष कार्यक्रम गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको पाल्पाका १० वटै स्थानीय तहमा मगर संस्कृतिमा आधारित झाँकी सहित मौलिक खानाका परिकारहरुको प्रदर्शन गरी दिवस मनाइएको हो । नेपाल मगर सङ्घ तथा मगर समुदाय सम्बद्ध विभिन्न समूहले पालिकासँगको सहकार्यमा बिभिन्न कार्यक्रम गरिएकोे नेपाल मगर सङ्घ पाल्पाका अध्यक्ष शान्ति झेंडी थापा मगरले जानकारी दिइन । मगर समुदायको पहिचानको रुपमा रहेका कला र संस्कृति संरक्षण एवं प्रवर्धन मुख्य मुद्दा रहेको थापाले बताईन ।

    कार्यक्रममा मगरी भेषभूषासहित मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकी प्रस्तुत भएको थियो । पाल्पा ,स्याङजा ,तनहु लगायत रुपन्देहीको बुटवलमा र देबदहमा पनि कार्यक्रम गरेर भब्य रुपमा मगर दिवस मनार्इएको छ । सङ्घ स्थापना हुनु पूर्व मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माण गर्ने उद्देश्यका साथ २०१२ सालमा श्यामसिंह थापाको नेतृत्वमा काठमाडौँमा मगर समाज सुधार सङ्घ गठन भएको थियो। २०३६ सालको राजनीतिक आन्दोलन पश्चात् मगरको एकीकृत सामाजिक संस्थाको रुपमा २०३९ साल फागुन १५ गते दमौलीमा हेमबहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङ्घाली परिवार सङ्घ हालको नेपाल मगर सङ्घ स्थापना भएको थियो ।
    सङ्घले भिन्नभिन्न भाषा, धर्म र संस्कृति बोकेको मगरलाई एउटै सुत्रमा बाँधी एकताबद्ध गरेको र अग्रजहरुको ऐतिहासिक सङ्घर्ष र उपलब्धिलाई स्मरण गर्दै फागुन १५ लाई उत्सवको रुपमा मनाइँदै आएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation