रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु

  • बुटवल ,४ फागुन। भारतको राजधानी नयाँदिल्लीमा रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
    यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो । घटना हुनुमा मुख्य दुई कारण मानिएको छ ।
    एक( अत्यधिक भिडका कारण यात्रुहरुलाई श्वासप्रश्वासमा समस्या भयो । केही यात्रु बेहोस भए । त्यसपछि भागदौड मच्चियो ।
    दुई( प्लेटफर्म नम्बर १४ मा १६ नम्बर प्लेटफर्ममा रेल आएको अनाउन्समेन्ट भयो । त्यसपछि यात्रुहरु त्यतैतर्फ जानका लागि तछाडमछाड गर्न थाले ।

    रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार राति प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस रेलका थुप्रै प्यासेन्जरहरु स्टेसनमा जम्मा भएका थिए । सबैलाई यो नै आजको अन्तिम रेल हो भन्ने लाग्यो अनि सबैजना रेल चढ्न तछाडमछाड गर्दा भागदौड मच्चिएको बताए ।

    मृतकका परिवारलाई १०–१० लाख राहत

    घाइतेहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालका प्रमुख प्रशासक ऋतु सक्सेनाले अस्पतालमा १५ जनाको ज्यान गएको बीबीसी हिन्दीलाई जानकारी दिएका छन् । तर भारतका अन्य न्युज च्यानलहरुले मृतकको संख्या १८ पुगेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।

    यसैबीच भारत रेलवेले भागदौडमा मृत्यु भएकाका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ।

    गम्भीर घाइते भएकाहरुलाई साढे २ लाख र सामान्य घाइतेहरुलाई १ लाख रुपैयाँ दिने निर्णय भएको छ ।
    स्रोत एजेन्सी एएनआई

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation