मौलिक कला, संस्कृतिको संरक्षण गर्छौ : मुख्यमन्त्री आचार्य

  • दाङ, २६ माघ । अन्र्तर प्रदेश स्तरीय थारु साँस्कृतिक सम्मेलनको दाङको चखौरामा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानी सँग जोड्न आवश्यक रहेको बताएका हुन् ।
    मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रत्येक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । निजामती सेवामा प्रवेश गर्ने अवसर प्रदेश सरकारले खुला गरेको छ । निजामती सेवामा थारु समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउँदै उनले लोकसेवा आयोगले गर्ने विज्ञापनमा दरखास्त दिएर सहभागी हुन आह्वान गरे । हामीले सहभागीताको सुनिश्चितता गरेका छौं,’उनले भने,‘ यस विषयमा पनि यहाँहरूले ध्यान दिनुपर्नेछ ।’
    स्थानीय मदिराको बजारीकरणका लागि संघीय सरकारले कानून नबनाउँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले वर्तमान संसद्मा विधेयक पारित गरेर भए पनि समस्या समाधान गर्न आग्रह गरे । थारु समुदाय लगायत आदिवासी जनजातिले परम्परागत रूपमा उत्पादन गर्दै आएको स्थानीय मदिरालाई बजारसँग जोड्न प्रदेश सरकारले प्राथमिकता दिएको भए पनि संघीय सरकारबाट कानूनी व्यवस्था नहुँदा ब्राण्डिङ र लेबलिङमा समस्या देखिएको मुख्यमन्त्री आचार्यले बताए ।

    प्रदेश सरकारले थारु समुदाय लगायतका अन्य समुदायले मनाउने माघ पर्वलाई सम्मान स्वरूप उत्सवका रूपमा मनाउँदै आएको उनले स्मरण गराए । सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले गत वर्ष समानीकरण अनुदान नपठाउँदा प्रदेश सरकार आर्थिक भारमा परेको बताउँदै समस्या समाधान गर्न आग्रह गरे ।

    ‘म सभापति ज्यू मार्फत यो समस्या राख्न चाहन्छु,’उनले भने,‘ संघीय सरकारले छिटोभन्दा छिटो समानीकरण अनुदानको रकम पठाउन जरुरी छ ।’ संघीय सरकारले समानीकरण अनुदान नपठाउँदा प्रदेश सरकारले समस्या भोगिरहेको छ । सरकारले छिटोभन्दा छिटो समानीकरण अनुदानको रकम पठाउन जरुरी छ ।’

    त्यस्तै, मुख्यमन्त्री आचार्यले हुलाकी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिन संघीय सरकारलाइ ध्यानाकर्षण गराए । ‘लुम्बिनी प्रदेशको नवलपरासी देखि बर्दिया सम्म हुलाकी राजमार्ग पर्दछ । तर, यो सडकको निर्माण कार्य अपेक्षा अनुसार अघि बढ्न सकेको छैन । यसलाई तीव्रता दिन यहाँहरूको साथ आवश्यक भएको उनले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation