
बुटवल,१२ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको शनिबार सम्पन्न नगरसभाको अधिवेशनले धार्मिकबाहेकका कार्यक्रममा खादा र माला प्रयोग नगर्ने निर्णय पारित गरेको हो ।
नगरसभाको बैठकमा प्रमुख खेलराज पाण्डेयले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको विकासमा प्रदेश र संघीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रयास गरेपनि अपेक्षाअनुरुप बुटवलका मुख्य र ठूला समस्यामा साथ नपाएको बताए । उनले आन्तरिक श्रोत र संघ र प्रदेशको अनुदानबाट जे जति बजेट छ त्यसैबाट बुटवलको विकासका कामलाई अगाडि बढाउने गरी कार्यक्रम र योजनाहरु अगाडि सारेको बताए ।
ज्योतिनगर पहिरो, तिनाउ नदीकिनारको बस्ती, तिनाउ करिडोरका कारण विस्थापितहरुको बारेमा संघ सरकारसँग पटक पटक छलफल भएपनि निकास ननिस्किएको उनले बताए ।
बुटवलको विकास सबै पक्षको सहकार्यबाट मात्रै सम्भव रहेको भन्दै उनले विकासका कामले तीब्रता लिएको बताए । उनले मुख्य सडकमा ट्राफिक लाइट जडान, हाइमास्ट लाइट जडान, बधशाला सञ्चालन, बसपार्कमा स्नानगृहसहितको शौचालय, मुख्य सडकको हरियाली जस्ता कामहरु सम्पन्न भइसकेको बताए
यस्तै, आम्दा अस्पतालमा पारामेडिकल अध्ययन शुरु र अस्पतालको स्तरोन्नति शुरु भएको र वडा नम्बर १३ र १७ मा १५(१५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने उनले बताए । बीटीआइमा ४० जना छात्रालाई निशुल्क अध्ययनको व्यवस्था, सीपमूलक तालिम र रोजगारका लागि नगरप्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला आत्मनिर्भर कार्यक्रम, बाआमासँग नगरप्रमुख कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको प्रमुख पाण्डेयले बताए ।
नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले चालु आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारमा केही ठूला योजनाको सिफारिश गर्ने र खर्च नहुने विकास बजेट शीर्षकान्तरसम्बन्धि गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।